दाङ असाेज ०१
दाङ जिल्ला उद्योग वाणिज्य संघको यही असोज १३ गते निर्वाचन हुँदै छ । निर्वाचनको लागि दुई वटा प्यानलका ४० जनाले उमेदवारी दर्ता गराएका छन् । उमेदवारी दर्तापछि ३२ जना माथि दाबी बिरोध हालिएको छ । दुबै पक्षले एक अर्कालाई दाबी बिरोध हालेपछि संघभित्र रहेका केही गलत क्रियाक्लापहरु सार्वजनिक भएका छन् । हाल संघको जिम्मेवार पदमा रहेकाहरुले नै किर्ते गरेर महत्वपूर्ण पदमा उमेदवारी दर्ता गराएपछि केही व्यवसायीहरु यसको बिरुद्धमा प्रहरी प्रशासनमा जाने तयारी गरेको बुझिएको छ । दाबि बिरोधको विषयमा विवाद सिर्जना भएपछि निर्वाचन गर्नका लागि गठन गरिएको निर्वाचन समितिले असोज २ गते साँझसम्म दाबि बिरोधको विषयमा टुंगो लगाएर उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले यस अगाडी भाद्र ३१ गते साँझ ५ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तालिका बनाएको थियो ।
किर्ते गरेर अरुको नाममा रसिद काटेर संघमा दाखिला भैसकेको अर्धकट्टीहरुमा उनीहरुको नाम र फर्म मेटाएर आफ्नो नाम समावेश गरेको भेटिएको छ । दाबि बिरोध पर्ने अधिकांश अन्य उमेदवारहरुको सवालमा भने किर्ते नभएर सामान्य त्रुटी भेटिएको बुझिएको छ । संघको उमेदवारीको विषयमा विवादहरु यतिबेला सामाजिक सञ्जालमा समेत छरपष्ट हुने गरी दुबै समूह र स्वतन्त्र व्यक्तिहरुले समेत खिल्ली उडाउँदै पोष्ट गरिरहेका छन् । उमेदवारी दिदा संस्थालाई आच नआउने गरी भएका केही कमि कमजोरीलाई नजर अन्दाज गर्ने पक्षमा निर्वाचन समिति रहेपछि किर्ते गरी उमेदवारी दर्ता गरिएको विषयमा भने निर्वाचन समिति नै के गर्ने भन्नेमा अन्यौल छ ।
दाङ उद्याेग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले संस्था माथि नै आँच आउने गरी उमेदवारहरुले उमेदवारी दर्ता गराएपछि उत्पन्न समस्यालाई समाधान गर्न निर्वाचन प्रक्रिया नै स्थगित गर्नुपर्ने माग गरेका छन । उनले आजीवन सदस्यता वितरणको सवालमा संस्थाको हितका लागि भएको, यस विषयमा बिबाद झिक्न नहुने बताउँदै नक्कली रसिद खडा गरेर उमेदवारी दिने कार्य खेद जनक भएको बताए । अबधिको हिसाबले भन्नु पर्दा हालको कार्यसमितिको अवधि अझै पुस माघसम्म भएकाले र निर्वाचनको उमेदवारी नै बिबादित बनेकाले अब निर्वाचन रद्ध गरेर अबधि पुगेपछि नयाँ सिराहबाट निर्वाचन गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष कार्कीको माग छ । संस्थाको गरिमा माथि आँच पुग्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाइएमा आफू प्रहरी प्रशासनमा समेत जान सक्ने कार्कीको भनाइँ छ ।
छानबिन समिति गठन गर्न माग
यसैगरी संस्थाका उद्योग उपाध्यक्ष अनिल आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघकै गरिमा घटाउने गरी किर्ते रसिद प्रकरण देखा परेकाले यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन । उपाध्यक्ष आचार्यले यसका लागि निर्वाचनमा सहभागि नभएका कार्य समितिहरुको छानबिन समिति गठन गर्नुपर्ने, तत्कालका लागि यो विषय नटुंगिदासम्म निर्वाचन प्रक्रिया स्थगित गर्नुपर्ने बताए ।