२०८० असोज ८ गते सोमवार

गुरुदेव बचत तथा ऋण सहकारी संस्था लि.को तेस्रो अधिवेशन सम्पन्न



त्रिवेणी गाउँपालिका पाँच जुगारमा रहेको गुरुदेव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको प्रमुख आतिथ्यतामा मङ्गलवार गाउँपालिकाको बहुउद्देश्यीय सभाहल जुगारमा साधारण सभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष देवा घर्ती मगरले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष खड्ग बहादुर वलीले आ.व. २०७९ / ०८०को आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक दान बहादुर डाँगीले आ.व.२०७९ / ०८० को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

वि.स. २०७० सालमा ऋषिराम पुनको अध्यक्षतामा यस संस्था गठन भएको थियोे । सुरुवाती चरणमा सहकारीमा २८ जना सदस्यहरु मिलेर रु. २ लाख ६ हजार सेयर पूँजीबाट दर्ता भएको संस्थाको अहिलेको कुल चुक्ता पूँजी २ करोड ७९ लाख ४४ हजार ७ सय ४९ रुपैयाँ २८ पैसा हुन पुगेको छ। यस संस्थाको सेयर सदस्य संख्या महिला ५०९ जना र पुरुष २७७ जना गरि जम्मा ७८६ जना भएको छ । जसमध्ये बाल बचत संख्या २४५ जना छन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले संस्थाको प्रगतिको कामना व्यक्त गर्दै आगामी दिनमा सञ्चालक समिति , शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर थप उत्कृष्ट सफलता हासिल गर्न शुभकामना दिनुभयो । गुरुदेव बचत तथा ऋण सहकारीले उल्लेख्य प्रगति गरेको छ, पालिका अध्यक्ष मगरले भन्नुभयो, उत्कृष्ट सहकारीका रुपमा स्थापित हुन शुभकामना दिन चाहान्छु । उहाले पालिकाभित्र रहेका सहकारी संस्थाहरुसंग हातेमालो गर्दै आफुहरु अघि बढ्न खोजिरहेको समेत बताउनुभयो । ‘सहकारीलाई आवश्यक साथ,सहयोग गर्न गाउँपालिका तयार छ, पालिका अध्यक्ष बाँठा मगरले भन्नुभयो।’ सहकारी संस्थाहरुको काम बचत संकलन गर्नु मात्रै नभई समाज निर्माणमा जोड दिएर शैक्षिक,आर्थिक,सामाजिक लगायत क्षेत्रबाट पछि परेका व्यक्तिहरुलाई साथ दिनु पनि रहेको उहाको भनाई थियो । उनले सदस्यहरु कुनै एक सहकारी संस्थामा मात्रै जोडिएर आर्थिक कारोबार गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने उहाले बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णबहादुर के.सीले सहकारीहरु नीति,विधि पद्धतीमा चल्नुपर्ने बताउनुभयो । उनले सहकारीहरुले वित्तिय साक्षरतामा जोड दिनुपर्ने कुरा उल्लेख गर्दै सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायि बन्नुपर्ने समेत बताउनुभएको थियो ।

संस्थाका अध्यक्ष देवा घर्ती मगरको सभापतित्व भएको कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य राम प्रसाद राणाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव भेद बहादुर खड्काले गर्नुभएको थियो । यसैगरी गुरुदेव बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभामा संस्थापक २८ जना सदस्यलाई सम्मान गरेको छ । भने बाल बचतकर्ता मध्येबाट २०७९ को SEE परिक्षामा छात्राबाट त्रिवेणी गाउँपालिका टपर शर्मिला डाँगीलाई पनि सम्मान गरेको छ ।

तेस्रो अधिवेशबाट खड्ग बहादुर वलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा विनिता वि.क., सचिवमा असिम राना, कोषाध्यक्षमा सरद डाँगी, कार्यसमिति सदस्यहरुमा राम प्रसाद राना, झक्कु प्रसाद वि.क., विरबल खत्री, पवित्रा के.सी., चन्द्रकली वली खड्का , आशा के.सी., मिना बस्नेत र लेखा समिति संयोजकमा दान बहादुर डाँगी, लेखा समिति सदस्यहरु आइतमाली वली र टंक राज डाँगी चयन भएका छन् ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार