
३० असोज,दाङ/ दाङमा एउटै खाडलमा गाडिएको अवस्थामा २ जनाको शव फेला परेको छ । आइतबार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँको जङ्गलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेको हो । मृत फेला पर्नेमा तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
उनका अनुसार मृतक आचार्य र महतरा असोज २७ गतेदेखि सम्पर्क विहीन भएका थिए । असोज २९ गते परिवारले उनीहरु हराएको भनी प्रहरीमा खवर गरेका थिए । अहिले शव निकालेर पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको छ ।
स्थानीयले जङ्गलमा गाडिएको अवस्थामा शव देखे पछि आइतबार प्रहरीलाई खवर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ । मृतक शरद र रोशनी स्थानीय अम्बापुर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए । उनीहरू प्रेम सम्बन्धमा रहेकोले भागेको घरपरिवारको अनुमान थियो ।