२०८१ बैशाख ६ गते बिहिवार

उच्छृङ्खल गतिबिधि गरेको भन्दै तुलसीपुरबाट ४ जना र घोराहीबाट ४ जनालाई पक्राउ



७ भदौ / दाङमा जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ८ जना विप्लव निकट नेकपाका कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार आज बिहान बन्दको क्रममा उच्छृङ्खल गतिबिधि गरेको भन्दै तुलसीपुरबाट ४ जना र घोराहीबाट ४ जनालाई पक्राउ भएका छन।

पक्राउ पर्नेमा तुलसीपुरबाट पत्रकार वलीसहित विप्लव निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन सेर्पाइली, उपाध्यक्ष दिपेन्द्र वली, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका केन्द्रीय सदस्य सञ्जय वली पक्राउ परेका हुन् । बन्दको क्रममा टिप्पर चलाएको भन्दै बन्दकर्ताले टिप्पर रोकेका थिए । साथै टिप्परमा क्षमता भन्दा बढि लोड पनि राखिएको थियो । यही कुरालाई लिएर भएको विवाद पस्चात उनीहरुलाई पक्राउ गरिएको हो । तुलसीपुरबाट विहान साढे ७ बजेतिर नियन्त्रणमा लिईएको हो ।

त्यस्तै घोराहीबाट अखिल क्रान्तिकारी दाङका संयोजक खुमन पौडेल, जिल्ला सदस्यहिमाल केसी, टार्जन वली र प्रकाश बुढा मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । घोराहीमा टायर बालेर विरोध गरेको भन्दै पक्राउ गरिएको हो । साथै बन्दकर्ताले उच्छृङ्खल गतिबिधि गरेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

विप्लव निकट नेकपासहित ४ वटा कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे राजनीतिक सहमति विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरेकाले मंगलबार बन्दको घोषणा गरेका छन् । साथै एमसीसी, भ्रष्टाचार, महंगीका विरुद्ध पनि बन्दको आह्वान गरिएको हो ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार