२०८२ बैशाख ५ गते शनिवार

शिक्षण सिकाइ प्रभावकारी बनाउन शिक्षकलाई ट्याब्लेट वितरण



रोल्पा, २६ साउन ।
विगतको कोभिड–१९ ले गर्दा शिक्षा क्षेत्रमा भएको शैक्षिक क्षति न्यूनिकरणका लागि सहयोग हुने उद्देश्यले त्रिवेणी गाउँपालिकाका सबै विद्यालयहरुमा ट्याब्लेट वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकाको समन्वय र यूनिसेफको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाद्वारा त्रिवेणी गाउँपालिकामा संचालन भइरहेकोे कोभिड–१९ शिक्षा प्रति कार्य कार्यक्रम अन्तरगत सो सहयोग गरिएको हो ।
कक्षा १ देखि कक्षा ३ सम्म सबै बालबालिकाहरुको सिकाइ क्षति न्यूनीकरण गर्नका लागि ३८ वटै विद्यालयका १ सय १२ टोल शिक्षा कक्षाहरु संचालन भइरहेका छन् । कक्षा १ देखि ३ सम्म टोल शिक्षामा अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई डिजिटल शिक्षण सिकाइ सामग्रीहरु सहित एक एक थान ट्याब्लेट र ब्लुटुथ स्पिकर एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । टोल शिक्षा सहजकर्ताका लागि दोश्रो चरणको दुई÷दुई दिने शिक्षण सहजीकरण तालिममा ती सामग्री हस्तान्तरण गरिएको हो ।
तालिमको उट्घाटन समारोहमा ती सामग्रीहरु हस्तान्तरण गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठाले शिक्षण सिकाइ प्रक्रियालाई डिजिटल माध्यममा लैजान आवश्यकता भएको बताउनु भयो । अध्यक्ष बाठाले त्रिवेणी गाउँपालिकामा शिक्षाको क्षेत्रमा हुरेक र यूनिसेफले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । उपाध्यक्ष लेखमणि डाँगीले कोभिडले शिक्षा क्षेत्रमा पारेको असरलाई यस टोल शिक्षा कक्षाले क्षति न्यूनीकरण गर्ने अपेक्षा रहेको बताए । त्यस्तै कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम गर्दै आएको बनाउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार