२०८० मङ्सिर २४ गते आइतवार

दुईवटा नागरिकता लिएका खत्रीलाई माओवादीले बनायो फेरि अध्यक्षको उम्मेदवार



रोल्पा ११

विवादित छवीका गाउँपालिका अध्यक्ष वीरबहादुर खत्री (भिउदे) लाई नेकपा (माओवादी केन्द्र) रोल्पाले फेरि गंगादेवमा अध्यक्षको उम्मेदवार बनाएको छ।

उनीमाथि दुईवटा नामबाट दुईवटा नागरिकता लिएको गम्भीर आरोप छ। खत्रीले फरकफरक नामबाट दुईवटा नागरिकता लिएको भन्दै ०७४ सालमा स्थानीय हरिबहादुर पुनले जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी हालेका थिए। उनै खत्रीलाई पार्टीभित्र चर्को विरोधका बीच माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले पार्टीको प्रदेश उपाध्यक्षसँगै फेरि गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएका छन्।

उजुरीमा २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र ०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएकाले छानवीन गरी कारबाहीको माग गरिएको छ।

स्थानीय पुनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान गरेर ०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।

स्रोतकाअनुसार प्रयोगशालाले एउटै व्यक्तिका नामबाट दुईवटा नागरिकता लिएको पुष्टि गर्दै ०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो। तर, उजुरी परेको पाँच वर्ष पुग्नै लाग्दासमेत छानवीन प्रक्रिया अघि नबढेपछि स्थानीयहरूले गुनासो गरेका हुन्। सत्ता र राजनीतिक प्रभावका कारण छानबिन रोकिएको गंगादेववासीले आरोप लगाएका छन्।

खत्रीले जिल्ला प्रशासन कार्यालय रोल्पाबाट दुई फरकफरक नामबाट नागरिकता लिएको यसअघि नै पुष्टि भएको छ।

कार्यालयको रेकर्डमा उल्लेख भएअनुसार खत्रीले प्रशासन कार्यालयबाटै भिउदे खत्रीको नामबाट पहिलो नागरिकता लिएका छन्। जसमा जन्म मिति ०४४ साउन १४ गते उल्लेख छ। दोस्रो नागरिकता २०४६ बैशाख २५ गते नागरिकता टोलीमार्फत लिएको रेकर्डमा देखिन्छ।

मृत्यु भएका साईंला भाइ वीरबहादुरको नामबाट जन्म मिति २०२७ भदौ १ गते राखेर उनले अर्को नागरिकता लिएको रेकर्डमा देखिन्छ।

नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका ०६३ अनुसार झुठो विवरण दिएर दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिले लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्ने व्यवस्था छ।

योसँगै खत्रीले तत्कालीन सुकीदह गाउँपालिकालाई जनयुद्धका क्रममा मारिएकी आफ्नी श्रीमती ‘गंगा ओली’ र अर्का स्थानीय ‘देवराज ओली’को नामका गंगादेव बनाएका थिए। उनको पाँच वर्षे कार्यकालमा गाउँपालिकामा व्यापक अनियमितता भएको समेत दावी गरिन्छ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार