आशिष केसी,तुलसीपुर
तुलसीपुर, १६ कात्तिक ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य राम बहादुर जिसीले व्यक्तिगत लगानीमा बाटो निर्माण गर्नुभएको छ । लामो समयदेखि जिर्ण अवस्थामा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैं स्थित करिब १ सय ५० मिटर लामो सडक मर्मत तथा विस्तार गरिएको हो ।
बाटो मर्मतका लागी वडाले आर्थिक बर्ष २०७६/७७ मा एक लाख रुपैयाँ विनियोजन गरेको थियो । तर त्यस स्थानमा जग्गा पर्ने २ जनाले सडक विस्तार गर्दा आफुहरुको जग्गा च्यापिने भन्दै अवरोध गरेका थिए । त्यसपछि विवादित बनेको सो सडक जिर्ण बन्दै गएको थियो । सडकको दुरावस्थाका कारण स्थानियहरुले निकै सास्ती पाएका थिए । सडक विस्तारका लागि वडाले बजेट विनियोजन गरेपनि आवश्यक समन्वय र पहल नगरेको स्थानीयहरुको गुनासो थियो ।
त्यसपछि वडा सदस्य जिसीले २ महिना अघि बर्षायाम सकिएपछी आफुले व्यक्तिगत लगानीमा बाटो मर्मत तथा विस्तार गरिदिने प्रतिबद्धता जनाएका थिए । सोही अनुरुप उनले आवश्यक समन्वय गरि व्यक्तिगत लगानीमा डोजर लगायर बाटो फराकिलो बनाउने र ग्राभेल गर्ने काम गरेका छन् ।
हाल वडा सदस्य जिसीको सहयोगमा ५ मिटर फराकिलो बाटो निर्माण भएको हो । बाटोलाई अझै व्यवस्थित गर्ने काम बाँकी रहेको उनले बताए । साथै उनले पक्की बनाउनको लागि आफुले सक्दो पहले गर्ने पनि बताए ।
बाटो निर्माण भएपछि स्थानीयहरु निकै खुशी भएका छन् । अब आवतजावतमा सहज हुने भएको छ । यस बस्तीमा ८/९ घरपरिवारको बसोबास रहेको छ । धेरै बर्ष पहिले स्थानीयहरु मिलेर हातले खनेर बनाएको बाटो खर्चवा कुलोले कटान गर्दै गएकोले झनै साँघुरो अवस्थामा रहेको थियो ।
सडक मर्मत भयपछी स्थानीय रत्नकला केसीले खुशी हुँदै भनिन् – “हामी लामो समयदेखि अप्ठेरोमा थियौँ, अब आवतजावतमा सहज हुने भयो ।”
स्थानीयहरुले वडा सदस्य जिसीले गरेको कामको सराहना गर्दै खुशी व्यक्त गरेका छन् । जिसी एक सच्चा र उदाहरणीय जनप्रतिनिधि भएको भन्दै स्थानीयहरुले उनको कामको प्रशंशा समेत गरेका छन् ।
सो अवसरमा जिसीले आफुले संधै जनताको समस्यामा साथ दिने बताए । उनले वडाका ठुलाठुला योजनाको कुरा गर्दा सानोसानो समस्याले पनि जनतालाई सास्ती हुने बताउँदै आफु संधै जनताको नजिकको साथी भएर काम गर्ने बताए । उनी जनप्रतिनिधि हुनुभन्दा अघि देखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका थिए ।