२०८१ असोज १ गते बुधवार

प्रभावकारी हुन सकेन नेपालगन्ज को नगर बस ठेक्का



नेपालगन्ज श्रावण २१- नेपालगन्ज उपमहानगरपालिकाको नगर बस सञ्चालन प्रभावकारी हुन सकेको छैन ।
संघीय सरकारको विशेष अनुदानबाट करिव २ वर्षअघि सञ्चालन गरिएका बस पछिल्लो समय ठेक्कामा दिएपछि यसवाट यात्रुहरुले अपेक्षित लाभ लिन सकेका छैनन् । यात्रुलाई व्यवस्थित यातायात सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएको भनिएता पनि ठेक्का प्रणालीमा लगिएपछि ठेकेदारको मनपरी गर्न थालेका छन् । ३ करोड ४७ लाख ३ हजार मूल्य बराबरको ४१ सिटे ४ वटा र ३६ सिटे ३ गरी ७ वटा बस उपमहानगरपालिकाले खरिद गरेको बसवाट नाफा लिन नसकेपछि बस सञ्चालनको जिम्मा ठेकेदारलाई दिइएको छ । ठेक्कामा बस सञ्चालन गर्न दिइएपछि ड्राइभर वा कन्डक्टर महिला हुनै पर्ने अनिवार्य प्रावधानलाई समेत ठेकेदारले लत्याएका छन् भने उपमहानगरका पदाधिकारी पनि त्यसमा मौन बसेका छन् ।
बसमा अनिवार्य महिला कर्मचारी राख्न २५ जना महिलालाई तालिम दिइएको थियो । नगर प्रमुख डा. धवलशम्शेर राणाले ठेकेदारले महिला कर्मचारी राखे नराखेको आफूलाई थाहा नभएको बताउनु भयो । उपमहानगरपालिकाले ठेक्कामा सञ्चालन गर्न दिएको नगर बसहरु अहिले नेपालगञ्जदेखि खजुरा, कोहलपुर र गौघाटसम्म सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार