२०८१ बैशाख ७ गते शुक्रवार

छिटो भन्दा छिटो ट्रंकलाइन महशुलउठाउन प्राधिकरणलाई ऊर्जामन्त्री भुषालको निर्देशन



काठमाडौं १० श्रावण –
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले ट्रंकलाइन महशुल छिटो भन्दा छिटो उठाउन नेपाल बिद्युत प्राधिकरणलाई निर्देशन दिएकी छन् ।

आइतबार काठमाडौंको रत्नपार्कस्थीत प्राधिकरणमा पुगेर भुसालले ट्रंकलाइन महशुल उठाउने जिम्मा प्राधिकरणको नै भएको भन्दै यस बिषयलाई मन्त्रालयसम्म नल्याउन निर्देशन दिए ।

लामो समयदेखि ट्रंकलाइन महशुस उठाउन नसक्नु प्राधिकरणको कमजोरी भएको उनले बताइन् । उनले औधोगिक करिडोरका समस्यालाई प्राधिकरणले सम्बोधन गर्न नसकेको जिकिर गरिन् ।

मन्त्री भुसालले प्राधिकरणको नाफा खुम्चिनु र चुहावट बढेकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिइन् । उनले प्राधिकरणको चुहावट बढेको जानकारी आफूले पाएको भन्दै तथ्यपूर्ण डाटा पेश गर्न पनि निर्देशन दिइन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोरोनाका कारण विद्युतगृह निर्माणमा ढिलाई भएको बताए । शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण अहिले नाफा खुम्चिएको बताए ।

उनले प्राविधिक चुहावट केहि बढेको पनि बताए । कार्यकारी निर्देशक शाक्यले २०७७ असारसम्म १५.२७ प्रतिशतमा झरेको विद्युत् चुहावट बढेर १६.३ प्रतिशत पुगेको बताए ।

कार्यक्रममा प्राधिकरण, तामाकोशी जलविधुत कम्पनी लिमिटेड र कर्मचारी सञ्चयकोषबीच तामाकोशी पाँचौ जलबिधुत आयोजना निर्माणका लाग ऋण लगानी गर्ने सम्बन्धमा समझदारी भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार