२०८० चैत्र १५ गते बिहिवार

किन गुगलमा ‘फटाहा’ सर्च गर्दा देखायो प्रधानमन्त्री देउवाको नाम ?



प्रविधिको दिग्गज कम्पनी गुगल सर्च इन्जिनमा तपाईंले यति बेला नेपालको फटाहा अर्थात (Fataha of Nepal) भनेर सर्च गर्नु भयो भने प्रधानमन्त्री शेरबहादुर देउवाको नाम अगाडि आउँछ । देउवा अघिल्लो साता मात्रै सर्वोच्च अदालतको आदेशमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई दिन पश्चातबाटै गुगलमा ‘फटाहा इन नेपाल’ अथवा ‘फटाहा अफ नेपाल’ भनेर सर्च गर्दा उनको नाम र फोटो देखाउन थालेको हो । यसको कारण के हो त ? के गुगलमा देखिएको यस्तो घटना यो नै पहिलो घटना हो ?
पक्कै पनि होइन । किन भने यसअघि पनि गुगल एल्गोरिदमको त्रुटीको कारण यस्ता थप्रै घटना भएका छन् । सन् २०१८ मा ‘इडिएट’ भनेर गुगलमा सर्च गर्दा अमेरिकाका तत्कालिन राष्ट्रपती डोनल्ड ट्रम्पको तस्वीर देखाउने गरेको थियो ।
जसले गर्दा गुगलले अमेरिकी कंग्रेसको न्यायपालिका समितिमै त्यसको जवाफ दिनुपरेको थियो । त्यस्तै सन् २०१९ मा इमरान खान पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनीमाथि पनि त्यस्तै घटना भएको थियो ।
त्यतिबेला गुगलमा ‘भिखारी’ भनेर सर्च गर्दा पाकिस्तानी प्रधानमन्त्री खानको फोटो देखाउने गरेको थियो । सन् २०२० मा अफगानी क्रिकेटर रासिद खान र भारतीय नायिक अनुष्का शर्मालाई जोडेर गुगलमा त्यस्तै घटना घटेको थियो ।
त्यतिबेला गुगलमा ‘रासिद खान वाइफ’ अथवा ‘वाईफ अफ रासिद खान’ भनेर सर्च गर्दा अनुष्काको तस्वीर देखाउने समस्या थियो । त्यसैले यस्ता घटना अनेकौं छन् ।
यस्ता विषयमा सम्बन्धित निकायले उजुरी दिएपछि गुगलले तत्कालै यसलाई सच्याउने गरेको पनि गरेको छ । तर, यसरी कुनै शब्दसँग जोडेर व्यक्तिलाई देखाउनुको पछाडिको कारण के हो त ?
‘गुगलले सर्च इन्जिनमा आउने रिजल्टलाई धेरै कुराले निर्धारण गर्छ,’ यसअघि डोनल्ड ट्रम्पको घटनामा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले अमेरिकी कंग्रेसमा भनेका थिए, ‘यो सबै एल्गोरिदमको काम हो । हामी विभिन्न कि वर्ड लिन्छौं र त्यसलाई विभिन्न पेजसँग दाँजेर दुई सय भन्दा बढी सिंग्नल जस्तै लोकप्रियता, सान्दर्भिकता र समयसापेक्षता लगायतका विषयको आधारमा र्‍याङ्किङ गर्छौं ।’
त्यसैका आधारमा गुगलले उत्कृष्ट परिणाम प्रस्तुत गर्ने गरेको उनको स्पष्टीकरण थियो । कुनै एक व्यक्तिले चाहेर गुगल सर्चको रिजल्ट फरक पर्ने होइन ।
कुनै समूहले चाहेर मात्र पनि हुने होइन । किन भने यसमा धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ । यो प्रयोगकर्ताले के गरिरहेका छन् भन्ने विषयले निर्धारण हुने कुरा पनि पिचाईले बताएका थिए ।
साभार :टेकपाना

प्रकाशित मिति : २०७८ साउन ५ गते मङ्गलवार