२०८३ असार १५ गते मङ्गलवार

असार १५ मा त्रिदेव English Boarding School को सामाजिक सन्देश: मन्दिर सरसफाइ र वृक्षारोपण




तुलसीपुर, दाङ। असार १५ (राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव) को अवसरमा त्रिदेव English Boarding School ले सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणलाई जोड दिँदै विशेष कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका शिक्षक तथा मन्दिर व्यवस्थापनका अध्यक्ष नोकिराम ओली( सन्दिप) पदमा शर्मा सुवर्ना पुन र मुना भण्डारी र शिक्षक तथा कर्मचारीहरूको सक्रिय सहभागितामा तुलसीपुर उपमहानगरपालिका–४, ठुलाखालीस्थित राधाकृष्ण शिव मन्दिर परिसरमा सरसफाइ गरिएको हो। साथै, हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यले मन्दिर प्राङ्गणमा विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार असार १५ लाई केवल धान रोप्ने पर्वका रूपमा मात्र सीमित नराखी सामाजिक सेवा, धार्मिक स्थलको संरक्षण र वातावरणप्रति जिम्मेवार बन्ने सन्देश दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागीहरूले धार्मिक तथा सार्वजनिक स्थलको सरसफाइ, वातावरण संरक्षण र वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले हरित वातावरण निर्माण र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
विद्यालयले यस्ता रचनात्मक गतिविधिमार्फत विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, सेवा भावना, वातावरणप्रेम तथा सामुदायिक सहभागिताको संस्कार विकास गर्ने लक्ष्य राखेको जनाएको छ। विद्यालयको यस पहललाई स्थानीयवासीले समेत सराहना गरेका छन्।

प्रकाशित मिति : २०८३ असार १५ गते मङ्गलवार