उतिस मगर
दाङ, तुलसीपुर ।
गायक बिक्रम पन्थी र गायिका ग्रेस सुस्माको सुमधुर स्वरमा सजिएको नयाँ डान्सिङ म्युजिक भिडियो ‘ओए माया’ सार्वजनिक भएको छ। असार १ गते सोमबार Punam Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले छोटो समयमै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउन थालेको छ।
युवा पुस्तालाई लक्षित गरी स्वास्थ्य, तन्दुरुस्ती, फुर्तिलोपन र उत्साह झल्किने डान्सिङ परिवेशमा निर्माण गरिएको गीतका शब्द तथा सङ्गीत गायक बिक्रम पन्थी स्वयंले सिर्जना गरेका हुन्। आकर्षक लय र आधुनिक संगीत संयोजनले गीतलाई थप श्रवणीय बनाएको छ।
भिडियोमा कलाकार ब्रका सुनाम, शृबस्ती पुनमगर, थमन चौधरी, अनमोल क्षेत्री र नीति केसी ले अभिनयसँगै उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन्। रोमान्टिक कथावस्तुमा आधारित भिडियोमा एक युवकले नृत्यमार्फत युवतीलाई आकर्षित गर्ने प्रयास गरेको कथा प्रस्तुत गरिएको छ। भिडियोको अवधारणा तथा कथा निर्देशक दिपक बर्मा ले तयार पारेका हुन्।
यस भिडियोमार्फत नव मोडेल ब्रका सुनाम ले औपचारिक रूपमा म्युजिक भिडियो क्षेत्रमा डेब्यु गरेका छन्। यद्यपि उनले यसअघि भारतका विभिन्न मेला तथा महोत्सवहरूमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गरिसकेका छन्। साथै शृबस्ती पुनमगर, थमन चौधरी, अनमोल क्षेत्री र नीति केसीका लागि पनि यो भिडियो म्युजिक भिडियो यात्राको महत्वपूर्ण सुरुआत बन्ने अपेक्षा गरिएको छ।
भिडियोको निर्देशन उद्घोषक तथा कलाकार दिपक बर्माले गरेका छन् भने JDI Dance Studio, घोराही का नरेन्द्र चौधरी ले कोरियोग्राफी गरेका छन्। छायाङ्कन सुरेश पन्थी, सहायक छायाङ्कन रमेश मगर, सम्पादन, पोस्टर निर्माण तथा रङ संयोजन शिशिर चौधरी ले गरेका हुन्।
गीतको एरेन्ज, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ एस.बी. मुस्कान ले गरेका छन्। गीत सार्वजनिकसँगै दर्शक तथा श्रोताका लागि आकर्षक उपहार योजनासमेत घोषणा गरिएको निर्माण टिमले जनाएको छ।
निर्देशक दिपक बर्माका अनुसार गीत सार्वजनिक भएलगत्तै टिकटक, फेसबुक रिल्स र इन्स्टाग्राममा यस गीतमा आधारित डान्स भिडियो बनाउने युवाहरूको उत्साहजनक सहभागिता देखिन थालेको छ। डान्सिङ शैलीमा निर्माण गरिएको ‘ओए माया’ आगामी दिनमा अझ व्यापक रूपमा दर्शकमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।








