दाङ, तुल्सीपुर–३।
तुल्सीपुर–३ स्थित आधारभूत विद्यालय रानागाउँमा अध्ययनरत ६० जना विद्यार्थीलाई राष्ट्रिय युवा संघ दाङका जिल्ला अध्यक्ष तथा युवा समाजसेवी विवेक योगी ले शैक्षिक सामग्री वितरण गरेका छन्। आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा कापी, कलम, झोला लगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल प्रकाश डाँगी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी विवेक योगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा श्रीधर साहु, हिरा बिक, प्रधानाध्यापक विकास केसी लगायत शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रीधर साहुले यस्ता सहयोगी कार्यले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा समाजका विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरूको सहभागिता आवश्यक रहेको बताउनुभयो।
आफ्नो व्यक्तिगत खर्च कटौती गरी शैक्षिक सामग्री उपलब्ध गराएका विवेक योगीले शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन, सकारात्मक सोच र मेहनतमार्फत आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्नुभयो।

योगीले आगामी दिनमा पनि विद्यालय तथा विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सामाजिक तथा शैक्षिक सहयोगका कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै, समाजका सक्षम व्यक्तिहरू तथा विभिन्न संघसंस्थाहरूले शिक्षा क्षेत्रमा अझ बढी योगदान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रधानाध्यापक विकास केसीले विद्यालयका विद्यार्थीहरूलाई प्राप्त सहयोगले अध्ययनका लागि थप प्रेरणा मिलेको बताउँदै सहयोगी भावना समाजका लागि उदाहरणीय रहेको उल्लेख गर्नुभयो। विद्यालय परिवारले विवेक योगीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै यस प्रकारका सहयोगले विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको सहजीकरण रेशमराज डाँगी ले गर्नुभएको थियो। स्थानीय समुदायले समेत विवेक योगीको मानवीय, प्रेरणादायी तथा शिक्षामैत्री अभियानको प्रशंसा गर्दै यस्ता पहलहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र शिक्षाको गुणस्तरीय विकासमा टेवा पुग्ने बताएका छन्।









