२०८३ बैशाख १६ गते बिहिवार

प्रथम त्रिदेव डान्सिङ आइडल सम्पन्न



त्रिदेव इङ्लिस बोर्डिङ स्कुलमा आज  प्रथम त्रिदेव डान्सिङ आइडल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक मनोज हमालले गर्नुभएको थियो।

कार्यक्रममा चर्चित नृत्य प्रशिक्षक सुलभ सिंह, विद्यालयकी नृत्य शिक्षिका करिश्मा केसी तथा सह–प्रधानाध्यापक पदमा शर्माले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो। अघिल्लो साता सर्टलिस्टमा परेका प्रतिस्पर्धीहरूले दोस्रो चरणमा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै पुनः प्रतिस्पर्धा गरेका थिए। दोस्रो चरणको सुरुवातमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच जुनियर डान्सिङ आइडल र त्यसपछि कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूबीच सिनियर डान्सिङ आइडल प्रतियोगिता सम्पन्न भएको थियो।

जुनियरतर्फ कक्षा ५ की सृष्टि पुन मगरले प्रथम स्थान हासिल गरेकी छिन् भने कक्षा ५ की ऋतु खड्काले द्वितीय, कक्षा २ की सनिशा एमसीले तृतीय तथा कक्षा ५ की ऋतु भण्डारीले सान्त्वना स्थान हासिल गरेकी छिन्।

त्यसैगरी सिनियरतर्फ कक्षा ९ की आयुषा डाँगी प्रथम भएकी छिन् भने कक्षा ७ की आज्ञा केसी द्वितीय, कक्षा ९ की सृजना पुन तृतीय र कक्षा ७ की आयुष्मा जिएमले सान्त्वना स्थान हासिल गरेकी छिन्।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक मनोज हमालले त्रिदेव स्कुल विद्यार्थीको पठनपाठनसँगै उनीहरूको चौतर्फी विकास र अन्तर्निहित प्रतिभा प्रस्फुटनमा सदैव प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमको व्यवस्थापन नोखिराम ओली र पोषण ओलीले गर्नुभएको थियो भने सहजीकरण विश्वास बीएमले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ पुष १० गते शुक्रवार