दंगीशरणमा छोराको बन्चरो प्रहारबाट घाइते बुबा–आमालाई समाजसेवी बसन्त खड्काद्वारा सहयोग
दाङ — पश्चिम दाङको दंगीशरणमा छोराको बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुबा–आमालाई तुलसीपुर–४ निवासी समाजसेवी बसन्त खड्काले आर्थिक र खाद्यान्न सहयोग गर्नुभएको छ।
कात्तिक ६ गते तिहारको भाइटिकाकै दिन दंगीशरण–५ सलौराका २४ वर्षीय वीरबहादुर ओलीले सामान्य घरायसी विवादका क्रममा आफ्नै आमा ५५ वर्षीया कुमारी ओली र बुबा ६५ वर्षीय बेदबहादुर ओलीमाथि बन्चरो प्रहार गरेका थिए।
गम्भीर घाइते बुबा–आमालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएपनि आर्थिक अभावका कारण तत्काल उपचार हुन सकेको थिएन।
ओसिएमसीको समन्वयमा भोलिपल्ट अर्थात् कात्तिक ७ गते उपचार सुरु गरिएको थियो।
तुलसीपुर खबरले “भाइटिकाकै दिन छोराले बन्चरो प्रहार गर्दा बुबा–आमा घाइते, उपचार गर्ने पैसा नहुँदा अस्पतालमा अलपत्र” शीर्षकमा समाचार प्रकाशित गरेपछि समाजसेवी बसन्त खड्का प्रभावित भएका थिए।
समाचार सुनेपछि उहाँले घाइते परिवारका लागि २ बोरा चामल र नगद १० हजार रुपैयाँ सहयोग गर्नुभयो।
“उहाँको बारेमा समाचार सुनेर मन निकै दुख्यो। भाइटिकाको दिन बुबा–आमामाथि यस्तो घटना हुनु र घरमा खाने कुरा पनि नहुनु अत्यन्तै पीडादायी लाग्यो। त्यसैले थोरै भए पनि सहयोग गर्नुपर्छ भन्ने लाग्यो,” — समाजसेवी बसन्त खड्काले भन्नुभयो।
उहाँले यस्तो मानवीय कार्यले पीडित परिवारको मनोबल बढाउने विश्वास व्यक्त गर्नुभयो र अन्य सहयोगी मनहरुलाई पनि सक्दो सहयोग गर्न आग्रह गर्नुभयो।
यता सहयोग रकम र खाद्यान्न प्राप्त गरेपछि आमा कुमारी ओलीले खुशी व्यक्त गर्नुभयो।
आफ्नै छोराले बन्चरो प्रहार गरे पनि घरबाहिरका व्यक्तिले आमाबुबाको माया दिएर सहयोग गरेको भन्दै उहाँले बसन्त खड्काप्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो।
“हामीलाई हाम्रो आफ्नै छोराले मार्न खोज्यो तर परायाले सच्चा सन्तानको माया दिए। यस्तो सहयोग पाउँदा धेरै राहत महसुस भयो,” — कुमारी ओलीले भनिन्।
गाउँको पुच्छारमा खेतको बीचमा रहेको उहाँहरूको घरमा बिजुली, खानेपानीजस्ता आधारभूत सुविधा छैन।
कुमारी ओलीले मट्टीतेलको उज्यालोमा जीवन चलाउँदै आएको र श्रीमान बिरामी भएकाले परिवार पाल्न कठिन भएको बताउनुभयो।
छोराको आक्रमणपछि शरीरमा चोट लागेर काम गर्न नसक्ने अवस्थाका कारण उहाँले अन्य सहयोगी मनहरुलाई पनि सकेको सहयोग गर्न अनुरोध गर्नुभएको छ।








