
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाका विद्यालयहरूमा शिक्षा विकास तथा समन्वय इकाई र राेस्टर विषय विज्ञहरूको टोलीले अनुगमन गरेकाे छ । अनुगमनले विद्यालयको शैक्षिक स्तर र स्तम्भमा सुधार ल्याउने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ ।
बिहीबार गरिएकाे यो अनुगमनमा शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत जीवन खनाल, राम प्रसाद भट्टराई र विजयनगर गाउँपालिकाकाे शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे साथै विषय विज्ञहरू खडानन्द भुसाल, शिशिर प्रसाद अर्याल र लोकनाथ अर्यालको टाेली उपस्थिति रहेको थियो ।
शान्ति दीप आधारभूत विद्यालय जर्लैया, हरिबाेध माध्यमिक विद्यालय प्रेमनगर, शिव माध्यमिक विद्यालय डालपुर र त्रिनेत्र माध्यमिक विद्यालय मधुनगर-साेनवर्षामा उक्त टाेलीले अनुगमन गरेकाे गाउँपालिका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।
अनुगमनका क्रममा जीवन खनालले विद्यालयलाई दिएकाे सुझावलाई अनिवार्य कार्यान्वयन गर्नुपर्ने निर्देशन दिए । उनले विद्यालयहरूमा पहिलो त्रैमासिक परीक्षा सञ्चालन भएकाे हुँदा कक्षा अनुगमन गर्न नमिलेकाे बताउँदै क्षमताहरुको पृष्ठपोषण गर्न अर्को समयमा पुनः अवलोकन गर्ने बताए । उनले विद्यालय व्यवस्थापन र शैक्षिक प्रणालीलाई थप प्रभावकारी बनाउनका लागि प्रशासनिक सुझाव तथा सल्लाहहरू दिएका छन् ।
यो अनुगमनले विद्यालयहरूको शैक्षिक वातावरणको विकास, शिक्षण विधिहरूको सुधार र विद्यार्थीहरूको शैक्षिक उपलब्धी वृद्धिमा सहयोग गर्ने उद्देश्य राखेको हो । यस क्रममा स्थानीय शिक्षक र विद्यार्थीका लागि उपयुक्त वातावरण सृजना गर्नका लागि आवश्यक कदम उठाइने जनाइएको छ।
समग्रमा विजयनगर गाउँपालिकामा गरिएको यो अनुगमनले शिक्षाको गुणस्तर पुनर्स्थापना र सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखिएको छ ।