दाङ । दाङको तुलसीपुरस्थित हिमाल एकाडेमीमा एक विद्यार्थीले विद्यालयका कोर्डिनेटर शिक्षकमाथि खुडा प्रहार गरेका छन्।
तुलसीपुर–४ रक्षाचौरका अन्दाजी १८/१९ वर्षीय सुरेश सुनारले सोही विद्यालयका कोर्डिनेटर शिक्षक विशेष श्रेष्ठमाथि शुक्रबार बिहान साढे १० बजे खुडा प्रहार गरेका हुन्।
प्रहरीका अनुसार सुरेशले स्कुल परिसरमै प्रवेश गरी श्रेष्ठमाथि अचानक धारिलो हतियारले हमला गरेका थिए। घटनामा श्रेष्ठको बायाँ काँध र दुबै हातको पाखुरामा गहिरो चोट लागेको छ।
घाइते श्रेष्ठलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ।
विद्यालयका प्रिन्सिपल मधुसुदन केसीले आफू घटनाको बेला विद्यालय बाहिर भएकाले विस्तृत विवरण नपाएको जानकारी दिए। यता प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख १८ गते शुक्रवार








