२०८३ असार १९ गते शनिवार

तुल्सीपुरमा स्थानीय युवाहरूको आन्दोलन, सडक बन्द गर्दै विरोध प्रदर्शन



तुल्सीपुर, दाङ —
तुल्सीपुरको पिपल बोर्डदेखि आलुमण्डी हुँदै रानी जरुवा जाने सडक निर्माणको माग गर्दै आज स्थानीय युवाहरूले आन्दोलन गरेका छन्। सडक निर्माण संघर्ष समितिको नेतृत्वमा गरिएको आन्दोलन अन्तर्गत केही समयका लागि उक्त सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ।

विगत लामो समयदेखि पटक–पटक आश्वासन दिँदै आए पनि सडक निर्माणको काम नथालेको भन्दै स्थानीयहरू आक्रोशित भएका छन्। आन्दोलनमा उत्रिएका संघर्ष समितिका सदस्यहरूका अनुसार सरकार र सम्बन्धित निकायहरूले पटक–पटक आश्वासन दिँदै स्थानीय जनतालाई झुक्याउँदै आएको आरोप लगाएका छन्।

संघर्ष समितिका अनुसार संघीय सांसद दीपक गिरी स्वयंम त्यो ठाउँमा पुगेर त्यहाँको अवलोकन गरिसकेका छन्। र उनले स्थानीय जनतालाई यो सडक छिटोभन्दा छिटो हुने बताउँदै । होलीको भोलिपल्टैबाट सडक निर्माणको काम सुरु गर्न ठेकेदारलाई निर्देशन दिएका थिए। साथै, बजेट व्यवस्था बाटो निर्माणका लागि भइसकेको जानकारी पनि दिएका थिए। तर त्यसपछिका दुई–तीन पटकका होलिहरु गइ सक्दा पनि यो बाटो निर्माण भएन भन्दै स्थानीयहरूले बाध्य भएर आन्दोलन चर्काउनुपरेको बताएका छन्।

“हामीले बारम्बार स्थानीय सरकार, जनप्रतिनिधि र निकायहरूसँग माग गर्‍यौं। तर हाम्रो आवाज सुन्ने कोही भएन,” संघर्ष समितिका एक सदस्यले बताए।
उनका अनुसार यदि अब पनि स्थानीय सरकार र सम्बन्धित निकायहरूले गम्भीर ध्यान नदिए आन्दोलन अझै तीव्र पारिनेछ।

आन्दोलनका क्रममा युवाहरूले टाउकोमा कालो पट्टी बाँधी विरोध प्रदर्शन गरेका छन्। उनीहरूले सरकारलाई कडा चेतावनी दिँदै भनेका छन्, “हामीलाई कमजोर नठान्नुस्, हामी युवा हौं। हाम्रो आवाज दबाउने प्रयास भयो भने हामी अझ कडा आन्दोलनमा जानेछौं।”

संघर्ष समितिका अनुसार आजको सडक बन्द र विरोध प्रदर्शन आन्दोलनको शुरुवाती चरण हो र माग पूरा नभएमा चरणबद्ध रूपमा संघर्षको कार्यक्रम अगाडि बढाइनेछ। भन्दै हामीलाई बताउनुभएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते बुधवार