
तुलसीपुर , चैत २८ । गत बर्षदेखि एकाएक चर्चामा आएको मोतिपुरको झुलुङ्गे पुल नजिकमा यो बर्षदेखि मोटर बोट सञ्चालनमा आएपछि झनैं चर्चा चुलिएको छ ।
तुलसीपुर उपमहानगरपालिका – ११ स्थित बबई नदीमा बोटिङमा रमाउन दिनहुँ सयौं मानिस पुग्ने गरेका छन् ।
तुलसीपुर र पश्चिम दाङका केही युवाहरु मिलेर बबई नदीमा अस्थायी प्रकृतिको पक्की बाँध बाँधेर पानी भण्डारण गरि त्यसैमा मोटरबोट सञ्चालन गर्दै आएका छन् । त्यो मोटर बोटमा चढे बाफत एक जना ब्यक्तिले दुई सय रुपैंया तिर्नु पर्छ । तर, त्यसका लागि बोट सञ्चालकहरुले आवश्यक प्रकृया भने पुरा नगरेको तुलसीपुर उपमहानगरले जनाएको छ ।
ती सबै कार्य गर्नका लागि उनीहरुले जिम्मेवार निकायबाट अनुमति वा स्वीकृति केही लिएका छैनन् । जो कुरा उपमहानगरका सूचना अधिकारी यज्ञबहादुर केसीले लिखित रुपमा प्रदान गरेको कागजले पुष्टि गर्छ ।
तुलसीपुर – ११ बेलटाकुराका युवा कृष्ण केसीले चैत २५ गते सूचनाको हक माग गर्दै निबेदन दिएका थिए । कृष्णलाई जबाफ दिदै उपमहानगरले जिम्मेवार निकायबाट अनुमति वा स्वीकृति केही नलिएको स्पष्ट जबाफ पठाएको हो । दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिपक गिरिले कानुन बिपरितका काम कोहि कसैले गर्न नहुने बताए । स्विकृत लिने ठाउँबाट अनुमति नलिएको भन्ने कुराहरु सार्बजनिक सञ्चारमाध्यममा आएकाले सम्बन्धित निकायले छानबिन गर्नुपर्ने उनले बताए । पर्यटन प्रबर्द्धनका लागी मोटर बोट सन्चालन गरिनु राम्रो पक्ष भए पनि कानुनि प्रकृया र जनता मोटरबोटको यात्रा गर्दा सुरक्षित हुने बाताबरण बनाउनु पर्ने उनले बताए । कानुन बिपरितका गतिबिधि भए पछि झमेला हुने भएकाले सबै सचेत हुनुपर्ने गिरिको भनाई छ । तर, आयोजक पक्षले भने सबै कानुनि प्रकृया पुरा गरेको दाबी गरेका छन । ६ लाखको यात्रुको बिमा पनि गरिएको आयोजकको दाबी छ ।