
पर्सा, मंसिर १:
श्री गोपाल सेवा तदर्श कार्य समिति, पर्सा क्षेत्र नं. ३ “क” द्वारा आयोजित एक महत्त्वपूर्ण कार्यक्रम पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नं. ६ को कार्यालय प्राङ्गणमा सम्पन्न भयो। “यादव जातिको वर्गीय उत्थान, समृद्ध समाज निर्माण हाम्रो अभियान” नाराका साथ आयोजित यस कार्यक्रममा यादव समुदायको सामाजिक, शैक्षिक, र आर्थिक उत्थानका विषयमा छलफल गरियो।
प्रमुख अतिथिको प्रतिबद्धता कार्यक्रमका प्रमुख अतिथि जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले यादव समुदायको समृद्धि र एकता सुनिश्चित गर्न पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले समुदायमा रहेका सामाजिक विकृति र कुरीतिहरूलाई हटाउन जोड दिंदै, सबै अभिभावकलाई आफ्ना सन्तानलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्न आग्रह गरे। आगामी दिनमा कृष्ण जन्माष्टमी मनाउन लाग्नुपर्ने सम्पूर्ण खर्च प्रमुख अतिथिले दिने बताएका छन्।

युवा नेतृत्वको विचार समाजसेवी तथा युवा नेता शैलेन्द्र यादवले पर्सा क्षेत्र नं. ३ मा १६ वटा वडाहरू र ५० भन्दा बढी गाउँ-टोल रहेका कारण वडा र पालिका स्तरमा समिति गठन गरी समग्र यादव समुदायको विकासमा लाग्नुपर्ने आवश्यकता औंल्याए।
समाजसेवाका पहलहरू समाजसेवी कृष्णमोहन यादवले यादव जातिले विगतको तुलनामा हाल सामाजिक र शैक्षिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै, ग्रामीण क्षेत्रमा अझै पनि पछि परेको समुदायलाई माथि उठाउन विशेष पहल गर्नुपर्ने बताए।
शिक्षा र आत्मनिर्भरताको जोड शिक्षाविद् हरिराज यादव, रामनारायण यादव, तथा लालदेव यादवले शिक्षा, कृषि, रोजगारी, व्यापार, र राजनीतिक क्षेत्रमा यादव समुदायलाई आत्मनिर्भर बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राखे।
कार्यक्रममा समाजका प्रतिष्ठित डाक्टर, इञ्जिनियर, शिक्षक, पत्रकार, राजनीतिकर्मी, किसान लगायत ३५० भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको उद्घोषण भागरत यादवले गरेका थिए।