२०८१ माघ १ गते बुधवार

सखुवाप्रसौनी गाउँपालिका बाहेकको पालिकाको बजेट रोका, बुझाएनन गाउँ सभा सम्पन्न विवरण, बजेट निकासा नहुँदा कर्मचारी मारमा



पर्सा जिल्लाका १४ वटा पालिकामध्ये सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासाको सूचीमा परेको छ भने अन्य १३ पालिकाले नगर/गाउँ सभा सम्पन्न गरे पनि आवश्यक विवरण मन्त्रालयमा अद्यावधिक नगर्दा बजेट निकासा हुन सकेको छैन ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साका अनुसार, सखुवाप्रसौनीबाहेक अन्य पालिकाहरूले नगर/गाउँ सभा सम्पन्न गरेको विवरण र योजनाहरूको सूची मन्त्रालयमा पठाउन ढिलाइ गरेका कारण कोलेनिकामार्फत अनुदान सहयोग प्राप्त हुन नसकेको हो । वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पर्सागढी  नगरपालिका र बहुदरमाई नगरपालिका त्यसैगरी  विन्ध्यवासिनी गाउँपालिका, धोबिनी, छिपहरमाई, पकाहामैनपुर, जगरनाथपुर, ठोरी, जीराभवानी, पटेर्वासुगौली, कालिकामाई गाउँपालिका गरी १३ वटा पालिकाले नगर/गाउँ सभा गरे, बजेट बनाए तर वडा र नगरस्तरीय बजेट कुन शीर्षकमा कति नछुटयाएकाले हालसम्म १३ वटा पालिकाकाे बजेट निकासा दिएकाे छैन्र ।

बजेट निकासा नहुँदा वीरगंज महानगरपालिका र पोखरिया नगरपालिकाका स्थायी, करार, र दैनिक ज्यालादारी कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् । बजेट नआउँदा महानगरका तीन सयभन्दा बढी कर्मचारीहरू तलबविहीन छन् भने गत वर्षदेखि अवकाश पाएका ४० जना कर्मचारीको उपदानबापत करीब आठ करोड रुपैयाँ बक्यौता रहेको छ ।

मन्त्रालयले नगररगाउँ सभा सम्पन्न गरेको विवरण प्राप्त नगरेकाले बजेट निकासा गरेका छैनन् ।  जसले गर्दा पालिकाहरूको नियमित प्रशासनिक कार्यसमेत प्रभावित भएको छ। मन्त्रालयको वेबसाइटमा पालिकाहरूको विवरण अद्यावधिक भएपश्चात मात्र बजेट निकासा हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते सोमवार