जुगार, असार ०५ गते । रोल्पाको त्रिवेणी गाउँपालिकामा बालविवाह मुक्त वडा घोषणाका लागि प्रतिवद्धता हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका कार्यपालिकाको आयोजनामा त्रिवेणी ५ का टोल विकास संस्थाहरुमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको हो।
त्रिवेणी गाउँपालिका ५ नं. वडालाई बालमैत्री बनाउने उद्देश्यका साथ बालकालिकाका अभिभावकहरु लाई लक्षित गरेर प्रतिवद्धता हस्ताक्षर संकलन कार्यक्रम गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हिरा बुढा पुनले जानकारी दिनुभयो । बाल विवाह भनेको के हो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बाल विवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्यूनीकरणका लागि टोल विकास संस्था तथा अभिभावकको भूमिका कस्तो हुन्छ ? बालश्रम के हो ? बाल हिंसा के हो भन्ने विषयमा प्रशिक्षण समेत गरिएको छ ।
उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णबहादुर केसीले पछिल्लो समयमा प्रविधिको दुरुपयोगले पनि बाल विवाह हुने गरेकोले यस प्रकारको प्रतिवद्धताले बालविवाह न्यूनीकरणमा योगदान पुग्ने बताउनुभयो । केसीले फेसबुक, ट्विट जस्ता सामाजिक सञ्जालको दुरुपयोगले बाल विवाह हुने गरेको बाल अधिकारको क्षेत्रमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रविधिको प्रयोग, सामाजिक सञ्जालको सही रूपमा सदुपयोग नगर्दा गाउँदेखी सहर क्षेत्रहरूमा पछि भागी प्रेम बाल विवाहले विकराल रूप लिँदै गएको बताउनुभयो । उहाँले सबै सरोकारवालाहरू सहित अभिभावकहरूले समयमै बालबालिकाहरू आफ्नो निरागरानीमा राख्न नसक्दा, अनुशासनको पालनमा ध्यान नसदाँ बाल विवाह भएको सुनिँदै आएकाले त्यसमा रोक्न र न्यूनीकरण सबै ऐक्यबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रहरी नायव निरिक्षक दिवस हिताङ्ग नेपालीले अभिभावक, बालकालिकाहरुमा जनचेतनाको अभावले गर्दा बाल विवाह हुने गरेकाले गरेको बताउनुभयो । अशिक्षा, गरिबी, परम्परागत चलन, चेतनाको अभावका कारण पनि बाल विवाह हुने गरेकाले त्यसलाई ध्यानमा राखेर न्यूनीकरणका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने कुरा समेत बताउनु भयो ।
बालविवाह गर्नु, गराउनु दण्डनीय अपराध हो। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को दफा १७३ मा बालविवाह गरेमा वा गराएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । साथै बालविवाह मुक्त स्थानीय तह घोषणा हुनको लागि यस गाउँपालिकाले पालिकाबासी कोही कसैले बालविवाह गरे, गराएमा गाउँ कार्यपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालय र मातहतका कार्यालयहरु मार्फत् उपलब्ध हुने सुविधाबाट समेत वञ्चित गर्ने निर्णय समेत हामीलाई जानकारी भएको छ। अतः हामी हाम्रो परिवार र हामी आवद्ध समिति/संस्था/समूह टोलमा हुन सक्ने बालविवाह रोकथामको लागि प्रभावकारी भूमिका निर्वाह गर्न र परिवार तथा समुदायमा बालविवाह हुन दिनेछैनौं तथा हुन लागेको वा भएको थाहा पाएमा तत्काल नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा गाउँ कार्यपालिकाको कार्यालयमा जानकारी गराई प्रहरीमा जाहेरी दिने प्रतिवद्धता गर्दछौँ , भन्ने कुरामा प्रतिवद्धता हस्ताक्षर गराइएको बाल कल्याण अधिकारी धरेन्द्र प्रशाद डाँगीले जानकारी दिनुभयो ।।