तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुर–३ स्थित गहते खोलामा पक्की पुल निर्माण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको गत आर्थिक बर्ष २०७९/०८० को २० लाख बजेटमार्फत सो पुल निर्माण गरिएको हो । गतबर्ष २०८० फागुन १३ गतेबाट सुरु भएको पुल निर्माण कार्य यही जेठ १६ गते सम्पन्न भएको हो । आज बुधबार एक कार्यक्रमकाबिच तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले सो पुल उद्घाटन गर्नुभएको छ । पुल उद्घाटन गर्दै मेयर खड्काले पुल निर्माणले सबैको मुहारमा खुसी छाएको बताउनुभयो । यत्ती पुल बनाएर मात्रै विकास पुरा नहुने भन्दै अझै धेरै काम गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ । पुल निर्माण भएसँगै स्थानिय खुसी भएका छन् । गहते खोलामा पुल नहुदा विगतमा धेरै समस्या भोग्नु परेकोमा अहिले पुल बनेपछी सहज भएको स्थानिय मिना खरेलले बताउनुभयो ।
पुल निर्माणपछी तुलसीपुर–३ का डाँडाखुटी, टन्डनपुर, भमके, ठुलासम्वा, बिसमुरे, भिउडर, भट्टेलगाएतका बासिन्दा खुसी भएका छन् । पुल नहुदा विद्यार्थीहरुलाई स्कुल जानआउनदेखी कृषिजन्यबस्तु ओसारपसारमा समेत समस्या भइरहेको अवस्थामा अहिले पुल निर्माण भएपछी धेरै सहज भएको अर्का स्थानिय रोम बहादुर थापाले बताउनुभएको छ । खेतीपातीका लागी खोला तरेर जानुपर्ने बाध्यता रहेको भन्दै केही बर्ष अगाडी बच्चासँग खोला तर्दै गर्दा खोलाले बगाउनै आटेका स्थानिय भिमा छन्तेलको भनाई छ । अब यो पुलले आवतजावतमा धेरै सहज हुने उहाँको भनाई छ । गहते खोलामा पुल निर्माण हुदा आवतजावतमा सहज हुनुका साथै लामो समय लाग्ने यात्रा पनि छोटो समयमै पार गर्न सकिने भएको छ ।।