९ जेठ, तुल्सीपुर / दाङको तुलसीपुर–७ मा रहेको दिव्यकुञ्ज एकाडेमीले आज बुद्ध जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । भोली आउदै गरेको बुद्ध जयन्तीको अवसरमा आज विशेष मुठ्ठीदान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा बारा, पर्सा, मकवानपुर, दैलेख, लगाएतका गुम्बाहरुबाट १९ जना लामाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र संघका केन्द्रिय महासचिव प्रेम दोर्जे बल लामाले भगवान गौतम बुद्धका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको प्रमुख अथिती समेत रहेका लामाले गौतम बुद्धका राम्रा बानी व्यवहारहरु अनुसरण गरी अगाडी बढ्नुपर्नेमा जोड दिदै विद्यार्थीहरुलाई ज्ञानका कुराहरु सिकाउनुभएको थियो। सो अवसरमा विद्यालयका शिक्षक डा. प्रेम योगीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरु पनि बुद्धको दर्शनमा लाग्नुपर्ने बताउनुभयो छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मुठ्ठीदान समेत गरिएको थियो । मुठ्ठीदान कार्यक्रममा विद्यार्थीहरुले स्वैच्छिक रुपमा घरबाट लिएका मुठ्ठी चामल र केही आर्थीक सहयोग समेत गरेका थिए। जसमार्फत ५ बोरा चामल र १२ हजार ३ सय ५० रुपैयाँ नगद सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो सहयोग तुलसीपुर–३ दमारगाउँमा रहेको बौद्ध गुम्बालाई हस्तान्तरण गरिएको छ । विद्यार्थीहरुलाई गौतम बुद्ध सम्बन्धि ज्ञान प्रदान गर्ने र दानको भावना जगाउने उदेश्यले बुद्ध जयन्तीको पुर्व सन्ध्यामा मुठ्ठीदान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थी तथा शिक्षकहरुको मुठ्ठीदान सहयोगका लागी विद्यालयले तुलसीपुर–३ र ९ मा रहेको बौद्ध गुम्बाका १९ जना भिक्षु तथा लामालाई विद्यालयमा आमन्त्रण गरेको थियो । यो कार्यक्रम लुम्बिनी प्रदेशमै पहिलो कार्यक्रम रहेको विद्यालयको दाबी छ । कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम संयोजक पुर्ण केसी (मुस्कान) ले गनुभएको थियो ।