धारिलो त्रिशूल प्रहारबाट वडा अध्यक्ष घाइते देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टमाथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् । राजपुर ६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केही महिना यता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्ट माथि त्रिशूल प्रहार गरेको बुझिएको छ । त्यस्तै वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र अहिले लमही अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । यस्तै त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जनकारी दिनुभयो । ‘घटनाको अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो, ‘नियन्त्रणमा लिएका छौं ।’ बिष्टलाई थप उपचारको लागि घोराही लगिएको बुझिएको छ ।
प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार