२०८३ असोज ५ गते मङ्गलवार

त्रिवेणी पूर्णखोप सुनिश्चितता पालिका घोषणा



२०८१ जेठ ०४ शुक्रबार

जुगार :रोल्पाको त्रिवेणी  गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ  । जिल्ला खोप समन्वय समितिका सदस्य सचिव  विशाल सुवेदीले  त्रिवेणी  गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण-पत्र  पालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर,उपाध्यक्ष लेखमणी डाँगीलाई हस्तान्तरण गर्नुभएको हो।

गाउँपालिकाका ७ वटै वडालाई पूर्णखोप सुनिश्चिता घोषणा गरेपछि सिङ्गो गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो । चालु आर्थिक वर्षमा १५ महिनादेखि ५ वर्ष मुनिका १२ सय ८२ जना सरकारले तोकेका १३ किसिमका रोग विरुद्धका खोपहरू  बालबालिकाहरलाई लगाएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख पूर्ण बहादुर बुढाले बताउनुभयो ।  

सरकारले प्रदान गरेको १३ किसिमको खोपमा एकजना बालबालिका पनि नछुटुन भनी ७ वटै वडामा घरदैलो गरी पूर्णखोप अभियानलाई सफल बनाएको स्वाथ्य शाखा प्रमुख बुढाले जानकारी दिनुभयो । 

घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले पूर्णखोप कार्यक्रम अभियानले बाल मृत्युदर,मातृ मृत्युदर शून्यको अवस्थामा पुर्‍याएको ,मानिसको औसत आयुमा वृद्धि गरेको,धेरै किसिमका रोगहरु बाट  सुरक्षित बनाएकाले समग्र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको र  पूर्णखोप सुनिश्चिता कार्यक्रमले ५ वर्षमुनिका कुनै पनि बालबालिका सरकारको मापदण्ड भित्रका खोपहरू पाउने,कुनै तरिकाबाट छुटेका भएपनि पु:न समेटिने भएकाले निकै प्रभावकारी भएको बताउनुभयो । 

गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले पूर्णखोप अभियानले पालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार आएको बताउनुभयो । पूर्णखोप अभियानले प्रत्येक घर घरमा पुग्दा स्वास्थ्य क्षेत्रका अन्य विषयवस्तुमा समेत जानकारी प्राप्त भएकाले गाउँपालिकाले सोही अनुसारको नीति कार्यक्रम र बजेट बनाउँदै आएको पालिका अध्यक्ष मगरले बताउनुभयो । सर्ने रोगहरू खोपबाट नियन्त्रण भएपनि नसर्ने रोगहरूको अवस्था दिनहुँ भयावह हुँदै आएकोले सिंगो गाउँपालिका नियन्त्रणको अभियानमा जुटेको अध्यक्ष बाठा मगरले बताउनुभयो। 

गाउँपालिका उपाध्यक्ष लेखमणी डाँगीले पूर्णखोप सुनिश्चितता कार्यक्रमलाई पालिकाले निरन्तरता दिने र आगामी दिनमा जिल्लामै पहिलो गाउँपालिका हुनेगरी आजैदेखि योजनावद्ध रुपमा काममा खटिने बताउनुभयो। 

बालबालिका स्वस्थ भए देश नै स्वस्थ हुने भएकाले सबै तहको सरकारबाट बालबालिकाको स्वास्थ्यमा बढी लगाउनी गर्नुपर्ने बोल्ने बक्ताहरुको भनाई  थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार