२०८१ माघ १ गते बुधवार

सुनसरीमा दुई समुदायबिच झडप, ६ राउण्ड गोली चल्यो



विराटनगर,२३चैतः सुनसरीको भुटाहामा दुई समुदायबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।

कोशी प्रदेशका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए ।उनका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर लगिएको छ ।

यसैबिच सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।शुक्रबार मध्यान्ह १२ बजेबाट अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

बिहीबार एसइइी परिक्षाको क्रममा हरिनगर गाँउपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण मावीमा भएको कुटपिट पछि दुई समुदायका बिचमा तनाब बढेको छ । दुवै समुहका स्थानीयहरु झडपमा उत्रिएपछि हरिनगर गाँउपालिकामा शुक्रबार बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।बिहीबार स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिट पछि दुवै समुहका बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार