२०८१ बैशाख ९ गते आइतवार

स्वास्थ्य बीमाले १० करोड ५० लाख भन्दा बढि रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा 



स्वास्थ्य बीमाले १० करोड ५० लाख भन्दा बढि रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा : रकम भुक्तानी नभए औषधि तथा मेडिकल सामग्री उपलब्ध गराउन सक्दैनौं : व्यवसायी
दाङ- स्वास्थ्य बीमा बोर्डले लामो समयसम्म रकम भुक्तानी नगर्दा दाङको घराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल बन्द हुने अवस्थामा पुगेको छ।
अस्पताल प्रशासनका अनुसार बीमा बोर्डले भदौ महिनादेखि १० करोड ५० लाखभन्दा बढी रकम भुक्तानी नगर्दा समस्या आएको हो। ‘बोर्डलाई समस्याका बिषयमा पटक पटक जानकारी गराइएको छ। तर पनि बोर्डले रकम भुक्तानी गरेको छैन,’ अस्पतालका एक कर्मचारीले भने, ‘१० करोडभन्दा बढी रकम नआउँदा अहिले अस्पताल चलाउनै समस्या परिरहेको छ। अब केही दिन रकम आएन भने अस्पतालको सेवा नै बन्द गर्नुपर्ने हुन सक्छ।’ अस्पतालको सेवासँगै बीमाले रकम नदिँदा प्रतिष्ठानका शैक्षिक कार्यक्रममा समेत असर परेको ती कर्मचारीले जानकारी दिए।

प्रतिष्ठानको अस्पताल ३२० शय्या क्षमतामा सञ्चालित छ। प्रतिष्ठानमा हाल दैनिक ७ सय देखी ८ सय बिरामी उपचारका लागि आउने गरेका छन्। बीमा बोर्डले रकम नदिँदा नियमित सेवा नै दिन नसक्ने अवस्था आएको कर्मचारीहरु बताउँछन्।

बीमा बोर्डले रकम भुक्तानी नगर्दा अस्पतालले औषधि तथा सामग्री सप्लायर्सहरुलाई समेत समयमा रकम दिन सकेको छैन। जसका कारण औषधि र सामग्री सप्लायर्सहरुले अब औषधि तथा सामग्री उपलब्ध गराउन नसक्ने चेतावनी दिएका छन् ।
प्रतिष्ठानमा औषधि तथा मेडिकल सामग्री आपूर्ति गर्दै आइरहेका व्यवसायीहरुले प्रतिष्ठानमा पत्र पठाउँदै रकम भुक्तानीको माग गरेका छन्। उनीहरुले समयमा नै रकम भुक्तानी नभएमा स्वास्थ्य सामग्री उपलब्ध गराउन नसक्ने भन्दै ज्ञापन पत्र नै बुझाएका छन्।

रसायन तथा मेडिकल आपूर्ति संघ दाङ र नेपाल औषधि थोक व्यवसायी संघ दाङमा आवद्ध विभिन्न व्यवसायिक संस्थाहरुले प्रतिष्ठानलाज्ञ ज्ञापन पत्र बुझाउँदै रकम माग गरेका हुन्।

‘देशमा उत्पन्न व्यवसायिक आर्थिक संकटले स्वास्थ्य व्यवसायीहरु पनि अछुतो रहन नसकेको विद्यमान परिस्थितिमा यसरी लामो समयसम्म भुक्तानी हुन नसक्दा व्यवसायीहरु निकै मारमा परी व्यवसाय नै सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको अवगत गराउँदै यथासीघ्र भुक्तानी गरिदिनुहुन अनुरोध गर्दछौं। समय सीमामै भुक्तानी हुन नसकेमा हामी प्रक्रियागत रुपमा आन्दोलित हुन बाध्य हुँदै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन नसक्ने समेत जानकारी सहितको यो ज्ञापन पत्र बुझाउँदछौं,’ ज्ञापन पत्रमा उल्लेख छ।

स्वास्थ्य बीमा बोर्डले छिट्टै प्रतिष्ठानसहित अन्य अस्पतालहरुको रकम भुक्तानीको तयारी भइरहेको जानकारी दिएको छ। तर बोर्डले कहिलेसम्म रकम भुक्तानी हुन्छ भन्ने यकिन जानकारी भने दिन सकेको छैन।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार