२०८१ पुष २८ गते सोमवार

निजगढ विस्फोटका सबै अभियुक्त धरौटीमा रिहा



बारा / निजगढ विस्फोटनका सबै अभियुक्त धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत बाराले घटनाका मुख्य आरोपी सबैलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

घटनाका आरोपी निजगढ– ९ का राज भनिने रमेश जयसवाल, ट्रकमा राखेर विस्फोटक पदार्थ ल्याउने ट्रकचालक निजगढ– ९ नदीकट्टाका वासु लामा र सहचालक सोही ठाउँ बस्ने टीकाराम पाख्रिनलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न शुक्रबार अदालतले आदेश दिएको हो।

यसअघि गत बुधबार नै धनुषा धारापानीका कबाडी पसले शिवशंकर माली र सोही पसलमा कबाडका सामान संकलन गर्ने सर्लाहीका बिल्टु महतोलाई पनि जनही एक लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो।

जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षेत्रीका अनुसार अदालतले आरोपी सबैलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनेको हो। उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी ११ चैतमा जिल्ला अदालतमा पेस गरिएको थियो।

गत फागुन १४ गते ग्यारेजमा भएको विस्फोटमा परी तीनजनाको मृत्यु भएको थियो भने तीनजना घाइते छन्। कबाडी पसले रमेशले लगेको सो वस्तु काट्ने क्रममा उक्त विस्फोट भएको थियो। विस्फोटमा परेर निजगढ– ७ स्थित रोहित वर्कसप सञ्चालक ४३ वर्षीय रेशम मगर, रौतहटको देवाहीगोनाही नगरपालिका– ९ का २० वर्षीय रिपुरजक धोबी र भारतीय नागरिक राकेश जयसवालको ज्यान गएको थियो।

त्यसैगरी, घटनामा भारतीय नागरिक अरबिन्द्र साह, निजगढ– ५ का रामबहादुर थापा र वीरगन्ज महानगरपालिका– ९ का फिरोज देवान घाइते छन्।

प्रहरीले २३ दिनको अनुसन्धानपछि घटनाका आरोपितहरूलाई जिल्ला अदालत बारामा पेस गरेको हो। उनीहरूलाई प्रहरीले ९ चैतमा जिल्ला सरकारी वकिल कार्यालय बारामा बुझाएको थियो।विस्फोट भएको उक्त वस्तु प्रोजेक्टाइल हो वा अन्य विस्फोटक भन्नेबारेमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिपोर्ट कुरेर बसेको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार कबाडी पसलमा सामान संकलन गर्ने महतोलाई उक्त वस्तु उनको गाउँकी एक बालिकाले बेवारिसे अवस्थामा फेला पारेर महतोलाई बेचेको पाइएको बताइएको छ।

घटनामा मृतक परिवारका आफन्तले भने अहिलेसम्म कुनै क्षतिपूर्ति पाएका छैनन्।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार