२०८१ माघ १ गते बुधवार

पर्सामा एक महिनादेखि आतङ्क मच्चाएको बाघ नियन्त्रणमा 



वीरगन्ज । पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतङ्क मच्चाउँदै आएको एउटा बाघलाई नियन्त्रणमा लिइएको छ।

तीनवटा हात्ती सहित विगत १० दिन देखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले पाटे बाघलाई डाट हानेर बेहोस पारी नियन्त्रणमा लिएको हो।

दुवै निकुञ्जका प्राविधिक र डिभिजन वन कार्यालय पर्साको संयुक्त टोलीले सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित उखुबारीबाट उक्त बाघलाई डाट हानेर लट्ठ्याएर नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादवले जानकारी दिनुभयो ।

एउटा भाले र एउटा पोथी  बाघले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतङ्क मच्चाउँदै आएको थियो । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो भने एक जना घाइते पनि भएको थियो ।राष्ट्रिय वन क्षेत्र नजिकका ती गाँउमा उक्त बाघले दर्जनौँ चौपाया मारेको थियो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख साहका अनुसार, उक्त बाघलाई नियन्त्रणमा लिन दुवै निकुञ्जका १० जना प्राविधिक र वन कार्यालयका ५ जना गरी १५ जनाको टोली तीन वटा हात्तीका साथ विगत १० दिनदेखि खटिए पनि सफलता पाउन सकेको थिएन । बाघ लुकेर बसेको सम्भावित स्थानहरूमा उक्त टोलीले सिसिटिभी क्यामेरा जडान गरेको थियो ।

ती दुवै बाघ उखु र मकैबारीमा लुक्दै ठाउँ सर्दै हिँडेका कारण १० दिनसम्म निकुञ्जको टोलीले फेला नै पार्न सकेको थिएन।तर बुधबार राति सिसिटिभी क्यामेरामा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो सखुवा प्रसौनी २ को उखुबारीमा दुईमध्ये एउटा बाघ लुकेर बसेको अवस्थामा फेला परेपछि डाट हानेर बेहोस पारी उक्त १८ महिनाको भाले बाघलाई नियन्त्रणमा लिन सफल भएको यादवले बताए ।अर्को पोथी बाघ भने अझै फेला पर्न नसकेको उहाँले बताउनुभयो ।

बिहीबार दिउँसो नियन्त्रणमा लिएको बाघलाई खोरमा राखेर गाडीमा लोड गरि चितवन राष्ट्रिय निकुञ्जको टोलीले लिएर गएको यादवले बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार