
तुलसीपुर, २० फागुन । पछिल्लो समय सामाजिक सञ्जालमा अरुको फोटो दुरुपयोग हुने क्रम बढेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत डा. सन्देश लम्सालको फोटोहरू पनि विभिन्न व्यक्तिले प्रयोग गरेको पाइएको छ । आफ्ना फोटो तथा भिडियोहरू सामाजिक सञ्जालहरूमा अज्ञात व्यक्तिले सार्वजनिक गरेपछी डा. लम्सालले ध्यानाकर्षण भएको बताउनुभएको छ । सम्बन्धित व्यक्तिको अनुमति बिना उक्त फोटोहरु विभिन्न रूपले सार्वजनिक गरेको भन्दै आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने, ठगी र ब्ल्याकमेल गर्ने उदेश्यले प्रयोग भएको उहाँ बताउनुहुन्छ । प्रादेशिक अस्पतालको हाड जोर्नी तथा नसा सम्बन्धि विभागमा कार्यरत डा. लम्सालले आफ्ना फोटोहरू पनि सामाजिक सञ्जालहरूको प्रोफाइलहरुमा प्रयोग गरेर विभिन्न महिलाहरू माथि दुर्व्यवहारपूर्ण क्रियाकलापहरु भइरहेको बताउनुभयो । आधिकारिक वेबसाइटमा उल्लेखित सामाजिक सञ्जालका प्रोफाइलहरू मात्रै आफुसँग सम्बन्धित भएको र सो वेबसाइटमा उल्लेख नगरिएका सम्पूर्ण अकाउन्टहरू फेक वा फ्यान अकाउन्ट भएको उहाँले बताउनुभयो । यसरी कसैको फोटो तथा भिडियोहरू सम्बन्धित व्यक्तिको जानकारी बिना प्रयोग गरिनु गैरकानुनी रहेको भन्दै यसरी प्रयोग गरिएको पाइएमा नेपालमा प्रचलित साइबर कानुन अनुसार कारवाहीको प्रकृयामा जान बाध्य हुने उहाँले बताउनुभयो । यसरी, सामाजिक सञ्जालहरूमा विभिन्न रूपमा प्रकाशित फोटो र भिडियोहरूको प्रयोगमा अत्यन्तै सावधानी अपनाउन आवश्यक रहेको भन्दै यस्ता विषयमा सचेत रहन उहाँले सबैलाई आग्रह समेत गर्नु भएको छ ।।