राजधानीको सिताइलामा तीन जनाको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अनुसन्धान अधिकृतले सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरेको खुलेको बताए मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन् । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् । ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो ।बरु ईश्वरीकी अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले पैसा लिन जाने बहानामा बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ । कक्षा आठमा पढ्ने भनिएका ती बालकले प्रहरीलाई दिएको जानकारीअनुसार आफूलाई बुबाले पैसा लिन पठाएको र फर्केर आउँदा हत्या गरेको पाएको बताएका छन् ।आफू कोठामा आइपुग्दा बुबाले घटनाबारे बताएको र मर्न जान्छु भनेर गएको उनले प्रहरीलाई बताएका छन् । बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । हत्यापछि काजीले ईश्वरीका आफन्तलाई समेत फोन गरेर घटनाबारे जानकारी दिँदै आफू पनि मर्न गइरहेको बताएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले घटनापछि श्रीमानपनि जंगलमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने उनीहरुबीच पारिवारित विवाद रहेको बताइएको छ । यस्तै काजीले ज्यामी काम गर्ने तथा अनुसन्धानका क्रममा श्रीमतीलाई हम्बर र बच्चालाई चक्कु प्रहार गरेको जस्तो देखिने मृत शरीरमा देखिएको घाउचोटको प्रकृतिले देखाएको छ । प्रहरीले घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार