३ फागनु । तुलसीपुर बजारबाट करिब एक किलाे मिटर टाढा पूर्व घाेराही राेडकाे उत्तर तर्फ वरिपरि टिनै टिनको घेराबार । त्यसको बीचमा कडा सुरक्षा व्यवस्था । अनि एक छेउमा व्यवस्थित स्टेज त्यसमा विभिन्न मनोरञ्जनका कार्यक्रमहरू । अर्को छेउमा बिचमा बाल उद्यान र त्यसको आडमा लुटतन्त्र । कुनै पनि अस्थायी प्रयोजनका लागि व्यवसायीक कारोबार गर्दा सम्बन्धित ठाउँमा रहेको आन्तरिक राजश्व कार्यालयबाट अस्थायी पान नम्बर लिनुपर्ने कानुनी व्यवस्था छ । तर सिद्धबाबा एक्जीवेशन नामको कम्पनीबाट सञ्चालनमा आएको बाल उद्यानले कानुन विपरित दैनिक ५ देखि ७ हजार टिकट बिक्री गरेर करोडौं रुपैयाँ कमाई गर्छ ।
५ देखि ७ हजार त कम्पनीको आफ्नै दाबी हो । वास्तविक टिकट बिक्री त यो भन्दा बढी कति होला यसको सहजै अनुमान गर्न सकिन्छ । दैनिक लाखौ कारोबार गर्ने कम्पनीले न अस्थायी पान नम्बर लिएको छ न यति शुल्क भनेर लेखिएको टिकटमा वाणिज्य संघको आधिकारिक छाप नै छ । टिकटमा प्रवेश शुल्क नलेखिए पनि न्युनतम १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।
बाल उद्यान भित्र हात्ती, घोडा, थ्रीवान, नैना, जम्पिङ, क्रस, रेल, झुलापीङ, ब्रेकडान्स, नाउला, मिक्की, भुत लगायतका मनोरञ्जनका संरचनाहरू निर्माण गरिएका छन् । रोटेपिङ र नैनालाई १ सय ५० रुपैयाँ र अन्यलाई १ सय रुपैयाँ टिकट शुल्क लिने गरिएको कम्पनीले जनाएको छ । टिकटमा शुल्क नखुलाउँदा सर्वसाधारण नागरिक संग आवश्यकता भन्दा बढी पैसा लिन सक्ने तुलसीपुर ४ रक्षाचाैरका हुरमत केसीले बताउनुभयाे ।
के भन्छन् महाेत्सवका ठेकेदार ?
महोत्सवको ठेक्का लिएका सिद्धबाबा एक्जीवेशन कम्पनीका विष्णु पन्थीले तुलसीपुर उद्योग बाणिज्य संघले अस्थायी पान लिएर कारोबार गरेकाले आफूहरूले पान नम्बर लिनु नपर्ने बताउनुभयो । बाल उद्यानले बिक्री गर्ने टिकटमा वाणिज्य संघको छाप लागेको र अर्धकट्टी टिकट वाणिज्य सङ्घलाई बुझाउने भएकाले आम्दानीका आधारमा राजश्व तिर्ने पन्थीले बताउनुभयो । तर खुलेआम दिनदहाडै ढाँट्ने बानी परेका पन्थीले बिक्री गरेको बाल उद्यानको टिकटमा कँही कतै तुलसीपुर उद्योग वाणिज्य संघको आधिकारिक छाप देखिदैन । जसका कारण लाखौ राजश्व छली नहुनेमा कुनै दुबिधा छैन् ।
के भन्छ तुलसीपुर आन्तरिक राजस्व कार्यालय
यता आन्तरिक राजश्व कार्यालय तुलसीपुरले सशुल्क टिकटमा कुन प्रयोजनका लागि कति शुल्क हो त्यो अनिवार्य खुलाउनुपर्ने बताएको छ । संस्थाको आधिकारिक छाप र शुल्क खुलाउनुपर्ने भन्दै त्यसो नगरेको पाइएमा कर छली अन्तर्गत कारबाही हुने आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख टिकाराज चौलागाइँले बताउनुभयो । कार्यालयबाट वास्तविकता बुझ्न अनुगमनमा टोली खटाउने भन्दै प्रमाण भेटिएमा कारबाही हुने कार्यालय प्रमुख चौलागाइँले बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघले कारोबारको पूर्वानुमानका आधारमा निश्चित धरौटी रकम राखेर अस्थायी पान नम्बर लिए पनि त्यहाँ बिक्री भएको स्टल, टिकट र व्यवसयीक कारोबारको यथार्थ विवरण खुलाउनुपर्ने कार्यालयले बताएको छ ।
‘पान वा भ्याटमा दर्ता भएका व्यवसायिक फर्मलाई मात्रै कारोबार गर्नु दिनु भनेर आयोजक तुलसीपुर उद्योग वाणिज्य सङ्घलाई भनेको छु । दर्ता नभएकाले पाउँदैनन् । त्यहाँ बिक्री भएका हरेक प्रकारका टिकटको अर्धकट्टी, व्यवसायीक कारोबार र स्टलको सबै विवरण पेश गर्नुपर्ने हुन्छ ।’ कार्यालय प्रमुख चौलागाइँले भन्नुभयो ।।
त्यसो गर्न पाइदैन सीडीयो
यता दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले पनि टिकटमा शुल्क खुलाउनु पर्ने बताउनुभयो । आफुलाई पहिलो पटक यस्तो जानकारी आएको भन्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले यदि त्यसो गरेको हो भने त्यो ठगी कार्य भएकाले कारबाहीको भागिदार हुने बताउनुभयो । त्यसका लागि कर कार्यालयलाई बुझेर जानकारी गराउन निर्देशन दिने उहाँले बताउनुभयो । माघ २४ गतेदेखि सञ्चालनमा आएको तुलसीपुर महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने छ ।