२०८१ माघ १ गते बुधवार

वीरगन्जमा भोलि देखि जुत्ता–चप्पल व्यापार मेला सुरु हुदैं



पर्सा ,१ फाल्गुन : पर्साको वीरगन्जमा बुधबारदेखि ‘दोस्रो वीरगन्ज फुटवेयर एक्स्पो २०८०’ नामक एक महिने जुत्ता–चप्पल व्यापार मेला आयोजना हुने भएको छ । वीरगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर आयोजकले एक महिनासम्म चल्ने व्यपार मेलामा नेपाल र भारतका गरि करिब २ लाख भन्दा बढी उपभोक्ता एवं ग्राहकले अवलोकन गर्ने दावी गरेको छ ।

वीरगन्जको लालबंगला परिसरमा लाग्ने व्यपार मेलामा विभिन्न १३ वटा कम्पनीका ६० भन्दा बढी स्टल रहने मेला समितिका संयोजक सुरज बन्जाडेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

व्यपार मेलामा ३५ देखि ४० हजार जोर जुत्ता चप्पल विक्री भई करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको आयोजकले जनाएको छ ।मेलामा जुत्ता–चप्पल खरिदमा ग्राहकलाई १५ देखि ५० प्रतिशतसम्म छुट दिनेपनि बन्जाडेले बताए ।‘स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गर्न लागिएको जुत्ता चप्पल व्यवपार मेलाको मुख्य उदेश्य नेपालमा उत्पादित नेपाली जुत्ता चप्पल उत्पादनको विक्री वितरण गर्न र उपभोक्तालाई नेपाली उत्पादनको बारेमा जानकारी दिने रहेको संयोजक बन्जाडेले बताए ।

मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै उनले बुधबार विहान ११ बजे वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले एक्स्पो मेलाको उद्घाटन गर्ने जानकारीपनि दिए।

मेला आयोजक समितिका संयोजक बन्जाडेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, मेलामा सहभागी हुने कम्पनी आइडिएल शुजका रामचन्द्र खत्री, बोस शुजका गंगा बहादुर श्रेष्ठ ,भेनसका जीवन कुमार श्रेष्ठ, वन वल्डका श्रीराम पाण्डे लगायतकोपनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार