
दाङमा जिपको ठक्करबाट एक जना शिक्षिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका ३७ वर्षीया सीता लम्साल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बिहीबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ९२३ नम्बरको जिपले शिक्षिकाले चलाएर विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका ५ कमलगढीमा ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भिर घाइते लम्सालको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए । उनलाई विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनले शान्तिनगरस्थित धनौरी माविमा कार्यरत थिइन् ।
प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार