तुल्सिपुर
दाङ – धेरैजसो कार्यक्रममा अतिथिलाई दिने ब्याज कागजबाट बनेकाे हुन्छ, ब्याजमा रिबनको फुर्का पनि हुन्छ । तर दाङको तुलसीपुर होटल व्यवसायी समितिले भने अतिथिलाई दिने ब्याजका लागि पिपलको पात प्रयोगमा ल्याएको छ ।
स्थानीय स्तरमा पाइने पिपलको पात वातावरणमैत्री हुने भएकाले पनि कार्यक्रममा अतिथिलाई ब्याजकाे रूपमा पिपलको पात र फूलको प्रयोग गरिएको समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो । ‘पिपलको पात सहजै पनि पाइन्छ, खर्चको व्ययभार पनि कम गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘आउँदा दिनमा पनि तुलसीपुर होटल व्यवसायीले कार्यक्रममा ब्याजकाे रूपमा पिपलको पात प्रयोगमा ल्याउने छ ।’
होटल व्यवसायी समितिले आज सोमवार नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम तथा भित्तेपात्रो विमोचन कार्यक्रममा पिपलको पात ब्याजकाे रूपमा प्रयोग गरेको हो ।
बजारमा पाइने ब्याजमा खर्च धेरै हुने भएकाले पनि पिपलको पात प्रयोग गरेर खर्चमा मितव्ययिता अपनाएको अध्यक्ष बस्नेतले बताउनुभयो । प्लास्टिक र कागजको ब्याजमा हुने खर्च कटौती गरिएको उहाँको भनाइ छ ।
समितिले ब्याजमा मात्रै मात्रै नभई नास्तामा समेत स्थानीय रैथाने बालीको प्रयोग गरेको छ । समितिले तुलसीपुरमा भएकाे कार्यक्रममा अतिथिलाई कोदोको पुवा, आलु र भाङ्गाको अचार अनि मोही दिएको थियो ।
स्थानीयस्तरमा पाइने रैथाने बालीको प्रयोग गरी खाजा बनाएको सचिव तुफान केसीले बताउनुभयो । ‘स्वाद सबैकाे एउटै नहुन सक्छ तर स्वास्थ्यका लागि हित हुने रैथाने नास्ताको प्रयोग गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यसअघि रैथाने खानाको महोत्सव पनि सञ्चालन गरेका थियौँ, अहिले पनि कार्यक्रममा कोदोको पुवासहित आलु र भाङ्गाको अचार अनि मोही खुवाएका छौँ ।’