२०८० चैत्र १५ गते बिहिवार

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै



२७ साउन,तुलसीपुर / प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आज रक्षाबन्धन अर्थात जनैपूर्णिमा, नाडीमा डोरी बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ ।

आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरी वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । रक्षा बन्धन बाँध्ने प्रचलन सत्ययुगदेखि नै चलिआएको मानिन्छ । पौराणिक कथनअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरी बाँधेर जोगाएका थिए ।

यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरी बाँध्ने प्रचलन छ । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । जर्ने फेर्ने र डोरी बाँध्नेहरुको दाङको मुख्य धार्मिक स्थल पाण्डवेश्वर मन्दिर धारापानी, अम्बिकेश्वरी मन्दिर, त्रिशिद्धस्वरी मन्दिर लगायतका मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ ।

जनै फेर्नेहरुले हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बस्छन् । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरीलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ ।

अर्को डोरीको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । यस किसिमको महत्व भएकाले नै आज बिहानै यजमान आफ्ना गुरु पुरोहित कहाँ गई यज्ञोपवीत मन्त्रने गर्दछन् । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ । कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा आजकै दिन मन्त्रिएको यज्ञोपवीत फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ ।

आजकै दिन शरीर शुद्ध गरी देवता, ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको हो । त्यस्तै आजको दिनमा ११ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाएर खाने चलन पनि छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
आजको दिनको मन्त्रः
‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
‘जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।“ आजको दिनलाई नेपालभाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात ‘गुंपुन्हि’ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार