२०८१ बैशाख ७ गते शुक्रवार

बाबुरामको राजनीतिकको पाँचौँ घुम्ती




असार १६
२०७० साल फागुन २५ गते । तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले ‘नयाँ शक्तिको खाँचो’ शीर्षकको लेख नेपाल साप्ताहिकमा प्रकाशित गरे । उनको लेखलाई लिएर बौद्धिक तप्कामा निक्कै ठुलो बहस र तरङ्ग सिर्जना भयो । तर, संविधान निर्माणको रस्साकस्सीमा यो बहस त्यतिकै ओझेलमा पर्‍यो ।
लामो विवादपछि २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भयो । यसबारे असन्तुष्ट रहेका बाबुरामले केही दिनपछि असोज ९ गते नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरे । संविधानमा आफ्ना असन्तुष्टिबारे उनले सो पत्रकार सम्मेलन आयोजना गरेको धेरैको अनुमान थियो । तर, त्यहाँ पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामाको घोषणा गरेर उनले सबैलाई सर्प्राइज दिए ।
माओवादी पार्टीसँगै कम्युनिस्ट विचार नै त्यागेको घोषणा गरेपछि कुनै बेला सेलाइसकेको नयाँ शक्ति निर्माणको बहस फेरि ब्युँतियो । झण्डै वर्ष दिनको बहसपछि बाबुरामले २०७३ साल जेठ ३० गते काठमाडौँको दशरथ रंगाशालामा भव्य कार्यक्रम आयोजना गरेर ‘नयाँ शक्ति’ को घोषणा गरे । नयाँ शक्ति पार्टी घोषणा गरेपछि भने भट्टराईको यात्रा सोचे अनुरूप अघि बढ्न सकेन । फैलँदै जानुपर्ने पार्टी उल्टो खुम्चिँदै गयो । उनलाई साथ दिएका पूर्व माओवादी नेताहरू समेत पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्किए । पार्टी निर्माणमा भट्टराई दिनरात नखटिएका पनि होइनन् तर २०७४ सालको स्थानीय तहको चुनावमा निराशाजनक नतिजा हात लाग्यो । आफूले सोचे जस्तो पार्टी निर्माण नभएपछि र स्थानीय चुनावमा निराशाजनक नतिजा आएपछि भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरेर २०७६ साल वैशाख २३ गते समाजवादी पार्टी निर्माण गरे । पार्टीको केन्द्रीय भूमिका उपेन्द्र यादवलाई राखेर आफू दोस्रो तहको नेतृत्व बस्न तयार भए ।
समाजवादी पार्टी बनाएको एक वर्षमै २०७७ वैशाख १० गते सबै मधेस केन्द्रित दल एक ठाउँमा हुने गरी जनता समाजवादी पार्टी(जसपा) नेपाल निर्माण गरियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर मधेस केन्द्रित दल फुटाउन खोजेको भन्दै समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी(राजपा)ले रातारात एकता गरेर जसपा बनाए । तर यो एकता पनि लामो समय टिक्न सकेन । अहिले यो दलबाट पूर्व राजपा छुट्टिएर लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) नेपाल गठन भएको छ । बाबुराम जसपामा नै संघीय परिषद् अध्यक्षको हैसियतमा रहेका छन् ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार