२०८१ माघ २७ गते सोमवार

युक्रेन-रुस युद्धः नेपाली बजारमा पेट्रोलियम पदार्थ प्रभावित




फाल्गुन २४
युक्रेन-रुस युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढिरहँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको अधिकारीहरूले बताएका छन्।

रुसले युक्रेनमाथि अतिक्रमण गरेपश्चात् आपूर्तिमा अवरोध सिर्जना हुने त्रासले इन्धन बजार प्रभावित भएको हो।

पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले नेपालमा पनि उपभोक्ताहरू मारमा परेका छन्।

एशियाली बजारमा सोमवार तेलको मूल्य १३ वर्षयताकै उच्च बिन्दुमा अर्थात्‌ प्रतिब्यारल १३९ डलर पुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको भाउ प्रतिब्यारल ३०० डलरसम्म पुग्न सक्ने चेतावनी मस्कोले दिएको छ।

नेपाल आयल निगमलाई कस्तो असर?

तेलको भाउमा निरन्तर भइरहेको वृद्धिको प्रत्यक्ष असर आफूहरूलाई परेको नेपाल आयल निगमका अधिकारीहरू बताउँछन्।

एशियाली बजारमा प्रतिब्यारल १३० डलरमा कारोबार भइरहँदा नेपालमा ९५ देखि १०० डलरको हिसाबअनुसार निगमले विक्री गरिरहेको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।
प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार निगमले अहिले घाटा खाएरै डीजल, पेट्रोल र खाना पकाउने ग्यास विक्री गरिरहेको छ।

“हामीलाई अहिले पेट्रोलमा १६ रुपैयाँ २८ पैसा डिजेलमा ११ रुपैयाँ ७८ पैसा र खाना पकाउने प्रतिग्यास सिलिन्डरमा ६६५ रुपैयाँ घाटा छ,” उनले भने।
फेब्रुअरीमा भारतीय आयल निगमलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ मूल्य स्थिरीकरण कोषबाट लिएको नेपाल आयल निगमले मार्च महिनाका लागि सवा चार अर्ब रुपैयाँ लिएको उनले बताए।

निमित्त कार्यकारी निर्देशक भट्टराईका अनुसार अर्को पटक तिर्नका लागि कोषमा भएको रकम पनि अपर्याप्त हुने निश्चितप्रायः छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार