
पुस २९
बुधबार राति भएको खेलमा सर्वाधिक धेरै नौ पटकको विजेता युभेन्टमाथि २–१ गोलको जित निकाल्दै इन्टरले उपाधि जितेको छ । सान सिरोमा भएको खेलमा इन्टरलाई जिताउन लाउटारो मार्टिनेज र एलेक्सिस सान्चेजले एक–एक गोल गरे । युभेन्टसका वेस्टन एमसिकेनीको गोल सान्त्वना बन्यो ।
खेलमा युभेन्टसले सुरुआती अग्रता बनाएको थियो । २५औँ मिनेटमा एमसिकेनीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । तर ३५औँ मिनेटमा इन्टरले बराबरी गोल गर्ने अवसर पायो । इन्टरले पाएको पेनाल्टीमा मार्टिनेजले गोल गर्दै घरेलु टिमलाई खेलमा फर्काए ।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको पनि इन्ज्युरी समयमा सान्चेजले गोल गर्दै इन्टरलाई उपाधि दिलाएका हुन् ।
इटालियन क्लब युभेन्टसका डिफेन्डर लियोनार्दो बोनुचीले इटालियन सुपर कपको फाइनलमा हारेपछि इन्टर मिलानका सचिवमाथि हातपात गरेका छन् । अतिरिक्त समयको इन्ज्युरी समयमा गोल खाएपछि टचलाइनमा रहेका इन्टरका सचिव क्रिस्टियानो मोजिल्लोलाई हातपात गरेको इटालियन मिडियाले जनाएका छन् ।
फाइनल भिडन्तको अन्त्यतिर २–१ ले गोलले पछि परेको अवस्थामा बोनुकीले बेन्चबाट उठेर आएर मोजिल्लोलाई धेकेलेका थिए । बोनुकी फाइनल खेलमा वैकल्पिक खेलाडीका रूपमा बेन्चमा बसेका थिए । उनले मैदान प्रवेश गर्न पाएनन् । सोही रिस इन्टरका सचिवमाथि देखाएका हुन् ।