
काठमाडौं उपत्यकामा चोरी तथा पाकेटमार कार्यमा सङ्लग्न २०७ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्धमा चलाएको अभियानमा उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । परिसरले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार कार्यमा सङ्लग्नलाई पक्राउ गरेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटीरहित, भरपर्दौ, विश्वसनीय र मजबुद बनाउन साथै नजिकिँदो चाडपर्वमा हुने लुटपाट र चोरीका घटना कमी गर्न परिसरले भदौ २५ देखि असोज १५ गतेसम्म चलाएको अभियानमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
चोरी तथा पाकेटमारले सार्वजनिक सवारी साधनमा चढेपछि साङ्केतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ परेकामध्ये २०७ जनामध्ये १६१ जनाको अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय हुँदै कारागार पठाइएको परिसरले जनाएको छ ।