२०८० चैत्र १५ गते बिहिवार

जुत्ताभित्र ब्लुटुथ डिभाइस राखेर चिट चोर्न खोज्ने १० परीक्षार्थी पक्राउ



भारतमा लामो समयदेखि परीक्षामा ‘चिट चोरी’ एउटा समस्या नै बन्दै आएको छ । परीक्षाको प्रश्नपत्र आउट गर्ने, बाहिर बसेर भित्र रहेका परीक्षार्थीलाई चोराउने तथा चिट चोरी गर्ने प्रवृत्ति अन्त्य हुन सकेकाे छैन ।

तर, आइतबार भने अनाैठो घटना भएकाे छ । शिक्षक आयोगको परीक्षामा जुत्ताभित्र ब्लुटुथ डिभाइस राखेर चिट चोर्ने तयारी गरिरहेका १० परीक्षार्थी पक्राउ परेका छन् ।
भारतको राजस्थानमा भएको उक्त सरकारी परीक्षामा झण्डै १६ लाख परीक्षार्थी सहभागी थिए । उक्त परीक्षामा प्रहरीका लागि भने इन्टरनेटको सुविधा उपलब्ध गराइएको थियो ।

त्यही मौकाको फाइदा उठाउँदै ‘शिक्षक’ बन्ने तयारीमा रहेका ती परीक्षार्थीले जुत्तामा ब्लुटुथयुक्त डिभाइस लुकाएर राखेको पाइएको हो । जसलाई कानमा रहेको आँखाले ठम्याउन नसक्ने सानो डिभाइसमा कनेक्ट गराई कल उठाउन सकिने फिचर रहेको थियो । जसको उद्देश्य बाहिर बस्नेले कल गरी परीक्षार्थीलाई प्रश्नको सही जवाफ प्राप्त गर्ने योजना थियो ।

तर, उनीहरूको उक्त प्रयास असफल भएको छ । शिक्षकको परीक्षाका लागि आएका उनीहरूको शंकास्पद क्रियाकलापका कारण परीक्षाभन्दा अघिल्लो दिन राति नै उनीहरु पक्राउ परेका हुन् ।

‘उनीहरूले चिटको तयारी गर्दै छन् भन्ने कुरा हामीलाई प्राप्त भएको थियो,’ राजस्थान प्रहरीले भनेको छ, ‘हामीले प्रश्नपत्र आउट गर्ने तयारी भइरहेको होला भन्ने कल्पना गरेका थियौं । तर, त्यहाँ पुग्दा स्थिति फरक थियो । उनीहरूले आफ्नो जुत्तामा ब्लुटुथयुक्त डिभाइस राखिरहेको पाइयो ।’

त्यस्ता डिभाइस कुल २५ जना विद्यार्थीले खरिद गरेको पाइएको छ । उनीहरूले एक जोडी जुत्ताका लागि ६ लाख भारू तिरेकाे प्रहरीले जनाएकाे छ ।

यसरी जुत्तामा ब्लुटुथ डिभाइस राखेर चिट चोर्ने तयारी गरेको पाइएपछि प्रहरीले तत्कालै सबै परीक्षा केन्द्रमा यस विषयमा जानकारी दिएको थियो ।

त्यो हुँदा आइतबार भएको परीक्षामा परीक्षार्थीलाई जुत्ता, चप्पलबिनै परीक्षा केन्द्रमा प्रवेश गर्न लगाइएको थियाे ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार