
भाद्र ३०।
कोरोना महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन एक हजार आठ सय ७० जना सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाभित्र अमेरिकामा मृत्यु हुने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अरु मुलुकको भन्दा अत्याधिक धेरै हो । अरु मुलुकमा एकै दिन आठ सयभन्दा कम सङ्क्रमितको मृत्यु भएको छ । अमेरिकामै मृतक सङ्ख्या केही दिनयताकै उच्च हो ।
विश्वमा विभिन्न मुलुकमा दैनिक मृत्यु दरमा उतारचढाव कायमै छ । अमेरिकामा हालसम्म कोरोनाका कारण छ लाख ८२ हजार दुई सय ७५ जनाको मृत्यु भएको छ । अमेरिकामा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या पनि घटबढ भइरहन्छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख २३ हजार एक सय २१ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या केही दिनयताकै उच्च हो । अमेरिकामा हालसम्म चार करोड २२ लाख ६६ हजार छ सय ७७ जनामा सङ्क्रमण यकिन भइसकेको छ ।