
भाद्र २१।
कोभिड-१९ को महामारीका कारण बन्द रहेका काठमाडौंका विद्यालय १ असोजबाट खोल्न पाइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले १ असोजबाट विद्यालय खोल्न दिने निर्णय गरेको हो ।
स्थानीय तहहरूले आ-आफ्नो क्षेत्रको अवस्था हेरेर विद्यालय खोल्न सक्ने उनले बताए । अब कोभिड-१९ को जोखिम कम भएका क्षेत्रमा स्थानीय तहले अभिभावकसँग समन्वय गरेर पठन पाठन सञ्चालन गर्न सक्नेछन् ।
प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको शिक्षा समितिका प्रतिनिधिको बैठकले विद्यालय खोल्नुअघि शिक्षक र अभिभावकसँग छलफल गर्नुपर्ने निर्णय गरेको छ । उनीहरूसँगको छलफलपछि कोभिड-१९ संक्रमणको अवस्था मूल्यांकन गरेर मात्रै विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्न सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
कोभिड-१९ को दोस्रो लहर आएपछि १६ वैशाखबाट काठमाडौंमा निषेधाज्ञा जारी गरिएको थियो । त्यससँगै विद्यालय पनि बन्द भएका थिए । १७ भदौमा जारी उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा सम्बन्धी आदेशमा विद्यालय खोल्न जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गर्नुपर्ने उल्लेख थियो ।