
भाद्र १७।
सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट खेलअन्तर्गत पोर्चुगलले तेस्रो जित दर्ता गरेको छ । बुधबार राति विश्वकपको युरापियन छनोटतर्फ चौथो चरणको खेल खेलेको पोर्चुगलले आयरल्यान्डमाथि २–१ गोलको जित निकालेको हो ।
पोर्चुगलस्थित स्टेडियो अलगाब्रेमा घरेलु टिमका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । आयरल्यान्डका जोन इगानले गरेको गोल सान्त्वना गोल बन्यो ।
पोर्चुगलले आयरल्यान्डको सुरुआती अग्रता उल्टाउँदै जित निकालेको हो । खेलको ४५औँ मिनेटमा इगानले गोल गर्दै आयरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर खेलको अन्त्यतिर रोनाल्डोले दुई गोल गरे । खेलको ८९औँ मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई खेलमा फर्काए । इन्ज्युरी समयमा दोस्रो गोल गर्दै उनले पोर्चुगलको जित सुनिश्चित गरे ।
जितसँगै समूह ‘ए’को पोर्चुगलले चार खेलमा १० अङ्क जोडेको छ । पोर्चुगल शीर्ष स्थानमा छ । अङ्कविहीन आयरल्यान्ड चौथो स्थानमा छ । उसले तीन खेल खेलेको छ ।