दीपक बोहरा
राप्ती सञ्चार ,दाङ, ९ भदौ ।
तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीले केही दिन अघि पत्रकार सम्मेलन गरि कार्यसमिति नै भंग भएको घोषणा गरेपनि कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले भने आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् । बुधबार कार्यसमितिका उपाध्यक्ष,सचिब, कोषाध्यक्षसहित अन्य सबै सदस्यहरुले सूचना जारी गरि यस्तो बताएका हुन् ।‘अध्यक्षद्वारा एकल पत्रकार सम्मेलन गरि राजीनामा घोषणा गरेको तर यस संस्थामा आज सम्म कुनै पनि आधिकारीक पत्र आईनपुगेको छैन’, सूचनामा भनिएको छ ।
कार्यसमितिका उपाध्यक्ष गिरीधारी प्रसाद पौडेल, सचिब मनोज लामिछाने, कोषाध्यक्ष सिताराम शर्मालगायत अन्य पाँच जना सदस्यले हस्ताक्षर गरि संयुक्त सूचना जारी गरेका हुन् । अध्यक्ष वलीले काम गर्ने वातावरण पनि नभएको र पछिल्लो कार्यसमितिको अबधी सकिएको पनि १७ महिना भएकाले नैतिकताका हिसाबले राजीनामा दिएको र संस्थाको कार्य समिति नै भंग भएको घोषणा गरेका थिए । तुलसीपुर खानेपानी पछिल्लो समय विवादमा तानिएको छ । खानेपानीमा हिनामिना भएको भन्दै अदालत र अख्तियारमा उजुरी परेको छ ।
खानेपानीमा व्यापक भ्रष्टाचार भएको आरोपसहित अदालतमा रिट परेपछि गएको बर्ष फागुन २२ गते तोकिएको निर्वाचन अहिले पनि अनिश्चित बनेका छ । उच्च अदालत तुलसीपुरले अनुसन्धानकै क्रममा रहेकाले तत्काल निर्वाचन रोक्न अन्तरिम आदेश गरेको थियो । बहुमत पार्षदहरुले पुनः बन्दशत्रको माग गरेका थिए । उच्च अदालतले भदौ ७ गते एक हप्ता पेशी तोकेको छ ।
यस्तै अख्तियारले संस्थाका पाँच बर्ष यताका कागजात लिएको छ । केही दिन अघि मात्रै संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना मार्फत आर्थिकसंग सम्बन्धित कागजात झिकाएको छ । अहिले संस्थामा कार्यसमिति नहुँदा सहलगानीको काम अघि बढ्न सकेको छैन ।