२०८१ कार्तिक २४ गते आइतवार

बिकासको नाममा बाह्य हस्तक्षेप स्वीकार्य हुदैन, एमसीसी खारेज गर्नुपर्छ : सांसद निरु पाल



काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले बिकासको नाममा बाह्य हस्तक्षेप स्वीकार्य नहुने भन्दै अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको शून्य समयमा सांसद पालले एमसीसीमा रहेका प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् ।

उनले एमसीसीका विषयमा वर्तमान सरकारले राष्ट्रिय सहमति खोज्नुको कुनै औचित्य नरहेको बताइन् । एमसीसी परियोजनाले मागेको भू-भाग र अन्य संरचना कानूनी रुपमा हस्तान्तरण गर्न माग गरिएको उनको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रकी सांसद धर्मशीला चापागाइँले ‘जनयुद्धका घाइतेले उपचार नपाए एमाले पार्टी कार्यालयमा आउनु उपचारको व्यवस्था गर्छु’ भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ती जनाएकी छन् । उनले माओवादी जनयुद्धका घाइतेको नभई झापा आन्दोलनका घाइतेको चिन्ता गर्न सुझाव दिइन् ।

त्यस्तै कांग्रेस संसद डा. डिला संग्रौलाले बेलायतमा आमरण अनशन बसिरहेका गोर्खा सैनिकको समस्या समाधानमा नेपाल सरकारले कूटनीतिक माध्यमबाट पहल गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै नेमकिपा सांसद प्रेम सुवालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितताले प्रतिष्ठानको मात्र नभइ कांग्रेस नेता वीपी कोइरालाको बदनाम भएको बताए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पती भएका योगमाया आयुर्वेद विश्वबिद्यालय बिधेयक र तथ्याङ बिधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक साउन ३२ गते बोलाइएको छ ।

प्रकाशित मिति : २०७८ साउन २९ गते शुक्रवार