२०८१ बैशाख ७ गते शुक्रवार

शौचालयको चप्पल लगाएर भागे: लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली



बुटवल श्रावण २१
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सार्वजनिक भएकी छिन् । बुटवलमा पत्रकार सम्मेलन गरि उनले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । साथै उनले आफू माओवादी केन्द्रमै रहेको समेत बताईन् । उनलाई साउन १५ गतेदेखि तुलसीपुरबाट सम्पर्कविहीन बनाईएको थियो ।

१५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको उनले बताएकी छन् । उनीहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताइन् ।

आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको बताउँदै भनेकी छन्, ‘विश्वास गरेर गाडीमा बसें ।’

तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’

मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताएकी छन् । उनले अघि भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’

मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उनले बताएकी छन् । थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको भन्दै उनले भनेकी छन्, ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन ।’

त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’
आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताएकी छन् ।

प्रदेशसभा सदस्य वलीका अनुसार २० गते उनी मुख्यमन्त्री निवासबाट भाग्न सफल भएकी थिइन् । मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले भनिन्, ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि आएँ ।’

आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन् ।

प्रकाशित मिति : २०७८ साउन २१ गते बिहिवार