
साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।
पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई बिट गर्दै नेयमारलाई पास निकालेपनि पिएसजीका फरवार्डले उक्त बललाई पोस्टको दिशा दिन सकेनन् । १३ अौं मिनेटमा क्यासेमिरोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गालेसेले विफल पारे ।

१५ अौं मिनेटमा रिचार्लीसनको पासमा एभर्टनको प्रहार पनि सिधै गालेसेको हातमम पुगेको थियो । १९ अौं मिनेटमा गालेसेले लगातार तीन सानदार बचाउ गर्दै खेल गोलरहित नै राखे । क्यासेमिरोको लामो प्रहार बचाएका उनले त्यस लगत्तै रिचार्लीसन र नेयमारको गोलतर्फ आएको प्रहारलाई उत्कृष्ट ढंगले विफल पारेका थिए ।
३५ अौं मिनेटमा भने गालेसे निरिह बन्दा ब्राजिलले अग्रता लियो । नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्र रहेका पाक्वेटालाई पास दिएपछि लियोनका मिडफिल्डरले शक्तिशाली प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाए । इन्ज्युरी समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।
ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।