दाङको तुलसीपुरमा प्रहरीले कुटपिट गर्दा एक व्यवसायीको कानको जाली फुटेको आरोप लागेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत सहायक हवल्दार भुवन केसीले आफूलाई अन्धाधुन्ध मुक्का प्रहार गरेको तुलसीपुर–३ का व्यवसायी सुरेश विकले आरोप लगाउनुभएको छ।
विकका अनुसार आफू साथीहरूसँग मोटरसाइकलमा बसेर कुराकानी गरिरहेका बेला सहायक हवल्दार केसी र हवल्दार राजेश बिस्ट एक्कासि त्यहाँ पुग्नुभएको थियो। प्रहरीले आफूलाई हप्कीदप्की गर्दै पूर्वरिस साधेझैँ गरी कुटपिट गरेको उहाँको आरोप छ।
कुटपिटपछि अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा एउटा कानको जाली फुटेको रिपोर्ट आएको विकले बताउनुभएको छ। घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आफूले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गराएको उहाँको भनाइ छ।
सुरेश विक, पीडित व्यवसायी
तुलसीपुर क्षेत्रमा चोरीका घटना बढिरहेका बेला प्रहरीले सक्रियता बढाउनु सकारात्मक भए पनि निर्दोष नागरिकमाथि बिना कारण कुटपिट गर्नु गम्भीर विषय भएको स्थानीयको भनाइ छ।
मान्छेको पहिचान र घटनाको वास्तविकता बुझेर कानुनी कारबाही अघि बढाउनुपर्नेमा प्रहरीबाटै सर्वसाधारणमाथि कुटपिट हुने हो भने नागरिकले असुरक्षित महसुस गर्ने पीडितको गुनासो छ। चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसकेको रिस सोझासाझा नागरिकमाथि पोखिएको आरोपसमेत लगाइएको छ।
कुटपिटमा संलग्न भनिएका सहायक हवल्दार भुवन केसीमाथि यसअघि पनि सर्वसाधारणलाई कुटपिट गर्ने र दादागिरी देखाउने गरेको गुनासो आउने गरेको स्थानीयको दाबी छ। पछिल्लो घटनामा पनि उहाँले व्यवसायी विकलाई कुटपिट गर्दा कानमा गम्भीर चोट लागेको आरोप छ।
यस विषयमा सहायक हवल्दार भुवन केसीसँग पनि प्रतिक्रिया लिइएको छ। ‘बिना कारण व्यवसायीमाथि किन कुटपिट गर्नुभयोरु’ भन्ने प्रश्नमा उहाँले आफ्नो पक्ष राख्नुभएको छ।
भुबन केसी, सहायक हवल्दार
यता, इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक टोपेन्द्र बुढाले घटनाबारे जानकारी प्राप्त भएको बताउनुभएको छ। घटनाको वास्तविकता बुझ्न दुवै पक्षसँग विस्तृत रूपमा छलफल तथा अनुसन्धान गर्न बाँकी रहेको उहाँको भनाइ छ।
टोपेन्द्र बुढा, निमित्त प्रहरी प्रमुख, इलाका प्रहरी कार्यालय तुलसीपुर
प्रहरी नागरिकको सुरक्षाका लागि खटिएको अवस्थामा प्रहरीबाटै नागरिकमाथि कुटपिट भएको आरोप लाग्नु गम्भीर विषय हो। घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही हुने र निर्दोष भए आरोपबाट मुक्त गरिनुपर्ने देखिन्छ।







